नेभिगेशन
समाचार

भूकम्पको घाउ निको नहुँदै पहिरोले जाजरकोटवासीलाई फेरि उठी' बास

झन्डै तीन वर्षअघि गएको भूकम्पको पीडा बिर्सन नपाउँदै बाढीपहिरोले जाजरकोटवासीलाई फेरि घरबारविहीन बनाएको छ। भूकम्पले चर्किएका र कमजोर बनेका घरमा जसोतसो जीवन धानिरहेका परिवारलाई पछिल्लो पहिरोले घरसहित अन्नपातसमेत बगाएपछि उनीहरू विद्यालय, अस्थायी टेन्ट, आश्रम र आफन्तको घरमा आश्रय लिन बाध्य भएका छन्।


गत साउन अन्तिम सातादेखि भदौ पहिलो सातासम्म आएको बाढीपहिरोका कारण भेरी नगरपालिका, जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकाका ३०३ परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकाका २३७ परिवार विद्यालय, आश्रम तथा टेन्टमा आश्रय लिएर बसेका छन् भने जुनीचाँदेका ६० र नलगाडका ६ परिवार आफन्तको घरमा शरण लिएर बसेका छन्।
भेरी नगरपालिका–२ रिसाङमा गत साउन ३० गते गएको पहिरोमा चारजनाको मृत्यु भएको थियो।

पहिरोले १४ घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने आसपासका करिब तीन सय घरपरिवार अझै पहिरोको उच्च जोखिममा छन्। जोखिमका कारण २३७ परिवार विस्थापित भएको भेरी नगरपालिकाको विपत् व्यवस्थापन शाखाले जनाएको छ।


         विस्थापित परिवारमध्ये रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालय नजिक बनाइएको टेन्टमा १५० परिवार, घदार्नेटास्थित विष्णु प्राथमिक विद्यालयमा ६५, स्यालास्थित विजय प्राथमिक विद्यालयमा १५ र थाप्लेस्थित महिला आश्रममा सात परिवार बसिरहेका छन्।
विद्यालयमा लामो समयसम्म प्रभावित परिवार राख्दा पठनपाठन प्रभावित हुने भएपछि मकैबारी फाँडेर अस्थायी सेल्टर निर्माण गरिएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोलीको सिफारिसमा रिसाङमा १९ वटा अस्थायी संरचना निर्माण गरिएको भेरी नगरपालिकाले जनाएको छ।


नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार विस्थापित परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने काम भइरहेको छ।
‘त्रिभुवन विद्यालयमा रहेका १५० परिवारमध्ये अधिकांशलाई नजिकै टेन्ट बनाएर राखेका छौँ,’ उनले भने, ‘खानाका लागि एकीकृत मेस सञ्चालन गरेका छौँ। अहिले तथ्यांक संकलन भइरहेको छ। अब अस्थायी आवासको प्रबन्ध गर्छौँ।’


                  भूकम्पले चर्काएको घर पहिरोले लग्यो
भेरी नगरपालिका–३ का पूर्णबहादुर विकले भूकम्पपछि चर्किएको घर मर्मत गरेर परिवारसहित बस्दै आएका थिए। तर साउन ३० गते घरमाथिबाट खसेको पहिरोले घर नै बगाएपछि उनी परिवारसहित स्यालास्थित विजय आधारभूत विद्यालयमा आश्रय लिन बाध्य भएका छन्।
‘भूकम्पले कमजोर बनाएको घर मर्मत गरेर बसिरहेका थियौँ। पहिरोले घरसँगै अन्नपात पनि सबै बगायो,’ विकको भनाइ छ। अहिले उनीजस्तै धेरै परिवारको अवस्था उस्तै छ—न बस्ने घर छ, न सुरक्षित रूपमा राख्ने अन्नपात।
       पहिरोमा ज्यान गुमाएका परिवारको पीडा झनै दर्दनाक बनेको छ। पहिरोले घरसमेत पुरिएपछि मृतकका आफन्तलाई किरियाका लागि समेत अर्कोको घरमा आश्रय लिनुपर्ने अवस्था आएको छ।
पहिरोमा ज्यान गुमाएका भीमबहादुर कार्कीका तीन छोरा चिसापानीबाट सदरमुकाम खलंगा आएर किरिया बसिरहेका छन्। त्यस्तै, खत्री परिवारले पनि आफन्त झुपलाल खत्रीको घरमा किरियाको काम गरिरहेको छ।


वडाध्यक्ष भीमबहादुर कार्कीका अनुसार अस्थायी शिविरमा बस्ने अवस्था व्यवस्थित नहुँदा विस्थापित परिवारमा स्वास्थ्य समस्या देखिन थालेको छ।
भूकम्पपछि पुनर्निर्माणको पर्खाइमा रहेका जाजरकोटका नागरिकका लागि पछिल्लो बाढीपहिरोले अर्को ठूलो संकट थपिदिएको छ। भूकम्पले चर्काएका घर सुरक्षित बनाउन नपाउँदै पहिरोले घरै बगाएपछि जाजरकोटवासीको पुनःस्थापनाको चुनौती झनै जटिल बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update