नेभिगेशन
समाचार

२६ वर्षदेखि थला परेको हेटौँडा कपडा उद्योग तंग्रिदै

पुराना १० मेसिनले कपडा उत्पादन थालिसके, थप १० मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी पुराना मेसिनलाई अटोमेटिक बनाइँदै, उत्पादन क्षमता तीन गुणासम्म बढ्ने

एकताका नेपालकै प्रमुख सरकारी औद्योगिक प्रतिष्ठानमध्ये रहेको हेटौँडा कपडा उद्योगले सुती धागो, कोरा, रंगीन, बुट्टेदार तथा सेतो कपडासँगै नेपाली सेनाका लागि आवश्यक कपडासमेत उत्पादन गर्थ्यो । उद्योग सञ्चालनमा रहेका वेला करिब एक हजार दुई सयजनाले प्रत्यक्ष रोजगारी पाएका थिए । तर, राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी, लगातारको घाटा र बन्द–हडतालका कारण ०५७ मा उद्योग बन्द भयो ।

अढाइ दशकपछि हेटौँडा कपडा उद्योगको मेसिन खटखटाउन थालेका छन् । उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यले थालिएको परीक्षण उत्पादन सफल भएको छ । पुराना १० मेसिनले कपडा उत्पादन थालिसकेका छन् भने १० मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी भइरहेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले पुराना मेसिनलाई आधुनिकीकरण गर्दै पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएकी छिन् । हेटौँडा कपडा उद्योगमा ४८८ मेसिन छन् ।

असार पहिलो सातादेखि नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० प्राविधिक खटिएर परीक्षण उत्पादन गर्न भनिएको थियो । दुई महिनामा परीक्षण सफल भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले मर्मतका लागि ३३ लाख रुपैयाँ निकासा गरेको थियो । सोही रकमले सरसफाइ र आवश्यक मर्मत गरी १० वटा मेसिन चलाएर कपडा उत्पादन थाालिएको हो । थप १० वटा मेसिन पनि चलाउन योग्य बनाइएको बताइएको छ ।

 

उद्योगमन्त्री यादव शनिबार हेटौँडा पुगेर परीक्षण उत्पादनको निरीक्षण गर्दै पूर्ण क्षमतामा चलाउने गरी सरकार अघि बढेको जानकारी दिइन् । सेनाको प्राविधिक टोलीले उद्योगमा १० लुमबाट नियमित परीक्षण उत्पादन भइरहेको र थप १० लुम सञ्चालनको तयारीमा रहेको जानकारी मन्त्री यादवलाई गराएको छ । सञ्चालनमा रहेका १० मध्ये तीनवटा लुमलाई अटोमेटिक प्रणालीमा रूपान्तरण गरिएको छ । बाँकीलाई पनि क्रमशः अटोमेटिक बनाउने काम भइरहेको उद्योग मर्मतकार्यमा सहभागी प्राविधिकले जानकारी दिएका छन् ।

 

नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक, कपडा उद्योगमै काम गरेका पुराना दुईजना कर्मचारी र टेक्टाइल उद्योगमा दक्षताप्राप्त दुईजना प्राविधिकसमेत काठमाडौंबाट लगेर उद्योगमा प्रयोगविहीन रहेका मेसिन मर्मत, उत्पादन, पुनः सञ्चालन र उत्पादन प्रणालीलाई आधुनिक बनाउने काममा खटाइएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update