जाजरकोटमा वर्षौंदेखि रहँदै आएको विद्युत समस्याको समाधानका लागि सकारात्मक पहल अघि बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटका सभापति महेश सिंहको पहल र समन्वयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग भएको छलफलपछि जिल्लाका विभिन्न विद्युत आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन र निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सभापति महेश सिंहले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको जानकारीअनुसार, २०८३ साउन २१ गते रास्वपाकी प्रतिनिधि प्रभा ढकाल, जिल्ला सचिव कर्णप्रसाद जैशी, कोषाध्यक्ष प्रमोदजंग शाह तथा नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुखले ऊर्जा मन्त्री श्रेष्ठसँग भेट गरी जाजरकोटको समग्र विद्युत समस्याबारे विस्तृत छलफल गरेका थिए।
छलफलका क्रममा आर्थिक अभावका कारण रोकिएको नलगाड नगरपालिका–चौखा सबस्टेसनसम्म ११ केभी प्रसारण लाइन निर्माण अघि बढाई नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको विद्युत समस्या समाधान गर्ने विषयमा सहमति भएको जानकारी गराएका छन्।
यस्तै, जिल्लाभरका विद्युत लाइनको स्तरोन्नति गर्ने, राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न कठिन रहेका नलगाड–१३ र छेडागाड–७ लगायतका क्षेत्रमा आवश्यक परे यसै आर्थिक वर्षभित्र साना माइक्रो हाइड्रोमार्फत विद्युत सेवा उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता मन्त्री श्रेष्ठले जनाएको उल्लेख गरिएको छ।
साथै, ठेक्का सम्झौता गरेर लामो समयसम्म निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीलाई अन्तिम अवसर दिई काम अघि नबढाए कानुनी कारबाही प्रक्रिया सुरु गरिने प्रतिबद्धता नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुखले मन्त्रीसमक्ष व्यक्त गरेको पनि जानकारी दिइएको छ।
रास्वपा जाजरकोटका सभापति महेश सिंहले जाजरकोटवासीको वर्षौंदेखिको विद्युत समस्याको स्थायी समाधानका लागि आफूले काठमाडौंमै बसेर सम्बन्धित निकायसँग निरन्तर समन्वय, दबाब र पहल जारी राख्ने बताएका छन्।