नेभिगेशन
बजार अर्थतन्त्र

कर्णालीमै अवसर सिर्जना गर्दै लक्ष्मी भट्टराई, आठ जनालाई रोजगारी

कर्णालीकी छोरी लक्ष्मी कुमारी भट्टराईले करिब १३ वर्ष काठमाडौंमा बिताइन् । विभिन्न गैरसरकारी संघसंस्थामा कन्सल्ट्यान्टका रूपमा काम गरिन्, आफ्नै कम्पनी सञ्चालन गरिन् र निजी वन महासंघको केन्द्रीय सचिवसम्मको जिम्मेवारी सम्हालिन् । तर, कोरोना महामारीले उनको जीवन यात्रालाई नयाँ मोड दियो ।
कोरोनाको बेला जन्मभूमि सुर्खेत आइपुगेकी लक्ष्मी फेरि काठमाडौं फर्किनन् । बरु आफ्नै ठाउँमा केही गर्ने अठोटसहित २०७८ सालमा ग्रीन कर्णाली बहुउद्देश्यीय उद्योग स्थापना गरिन् ।

करिब २० लाख रुपैयाँको लगानीमा सुरु गरिएको उद्योगमार्फत उनले सालको पातका दुनाटपरी तथा बेत र बाँसबाट सजावट तथा फर्निचरका सामग्री उत्पादन गर्न थालिन् ।


सालको पात प्रशस्त पाइने भए पनि जनशक्ति लागत अत्यधिक हुँदा यो कामबाट अपेक्षित परिणाम आएन । ‘दिनको सात–आठ सय ज्याला दिँदा पनि पातबाट लागत उठेन,’ भट्टराई भन्छिन् । बेत र बाँसको काममा बजार भए पनि दक्ष जनशक्तिको अभावले चुनौती थपियो । यसै कारण उनले दुवै काम करिब दुई वर्ष रोक्नुपर्‍यो ।
समस्याबाट हार नमान्दै लक्ष्मीले अध्ययन, अनुसन्धान र धैर्य जारी राखिन् । दुई वर्षअघि परिवारकै सहयोगमा २०८० सालदेखि उद्योग पुनः सञ्चालनमा ल्याइन् । यसपटक भारतको सिलगुढीबाट दक्ष मिस्त्री ल्याएर काम सुरु गरिन् । प्रदेश वन निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरी ३५ जनालाई बेत र बाँसका सामग्री बनाउने तालिमसमेत प्रदान गरिन् ।
उद्योग विस्तारका लागि उनले दुई बैंकबाट ६० लाख रुपैयाँ ऋण लिएकी छन् ।

अहिले उद्योगमा घर, अफिस, होटल र रेस्टुरेन्टका लागि आवश्यक कुर्सी, टेबुल, सोफा तथा सजावटका सामग्री हातैले उत्पादन भइरहेका छन् । वातावरणमैत्री, टिकाउ र आकर्षक डिजाइनका यी सामग्रीप्रति बजारको चासो बढ्दै गएको छ ।
हाल उद्योगमार्फत आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । वार्षिक करिब १५ लाख रुपैयाँको कारोबार हुने गरेको र १५ देखि २० प्रतिशत नाफा रहने लक्ष्मी बताउँछिन् । छिट्टै सुर्खेतसँगै नेपालगञ्ज र काठमाडौंमा व्यवसाय विस्तार गर्ने उनको योजना छ ।
२०३९ सालमा दैलेखमा जन्मिएकी लक्ष्मीले बाल्यकालमै बुबा गुमाइन् । एकल आमाको संघर्षमा हुर्किएकी उनले सीएमए अध्ययनसँगै राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन् । शान्ति प्रक्रियापछि विस्थापितलाई घर फर्काउने अभियानमा सक्रिय भूमिका खेलेकी उनी हाल बर्दियामा चार बिघा क्षेत्रफलमा निजी वनसमेत सञ्चालन गरिरहेकी छन् ।


‘म कर्णालीकी छोरी हुँ, यहाँका छोरीहरूका लागि केही गर्नुपर्छ भन्ने सोचले यहीँ बसेर काम गर्ने निर्णय गरेँ,’ उनी भन्छिन् । स्थानीय स्रोत, सीप र श्रमको उपयोग गर्दै कर्णालीमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेकी लक्ष्मी आज आफूले रोजेको बाटोप्रति सन्तुष्ट र आशावादी देखिन्छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update