सुर्खेत मोडेल कलेजको सहयोग तथा पिनाकल पब्लिकेसनको समन्वयमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एन (प्याब्सन) वीरेन्द्रनगर नगर समिति, सुर्खेतद्वारा आयोजित प्रि–स्कुल टिचर्स ट्रेनिङ–२०८३ शुक्रबार वीरेन्द्रनगर–८ स्थित सुर्खेत मोडेल कलेजमा सम्पन्न भएको छ।
प्रि–प्राइमरी तथा प्रारम्भिक बालशिक्षालाई अझ प्रभावकारी, सिर्जनात्मक र बालमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको एकदिने प्रशिक्षण कार्यक्रममा सुर्खेतका विभिन्न निजी विद्यालयका शिक्षक–शिक्षिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रशिक्षणमा सुर्खेत मोडेल एकेडेमी, बुलबुले भेरी एकेडेमी, मोडर्न पब्लिक एकेडेमी, सनसाइन एकेडेमी, राइजिङ स्टार एकेडेमी, पब्लिक एकेडेमी, उत्तरगंगा कर्णाली एकेडेमी, हार्भेस्ट मुन एकेडेमी, अरनिको बोर्डिङ स्कुल, एडभान्स बोर्डिङ स्कुल, सुर्खेत भ्याली स्कुल, ग्लुमिङ बोर्डिङ स्कुल, हिउरिस्टिक बोर्डिङ स्कुल तथा विद्या ज्योति बोर्डिङ स्कुल लगायतका मन्टेश्वरी स्कुलहरुका शिक्षक–शिक्षिकाहरू सहभागी भएका थिए।
कार्यक्रममा प्रशिक्षक सिर्जना महर्जन ले प्रारम्भिक बालविकास, बाल मनोविज्ञान, आधुनिक शिक्षण विधि, कक्षाकोठा व्यवस्थापन तथा बालबालिकाको सर्वाङ्गीण विकासका विविध पक्षबारे सहजीकरण गरेकी थिइन्। उनले बालबालिकाको सिकाइ प्रक्रियालाई रमाइलो, व्यवहारिक तथा सहभागितामूलक बनाउन शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताइन्।
प्रशिक्षणका क्रममा सहभागीहरूले बालमैत्री शिक्षण अभ्यास, सिर्जनात्मक सिकाइ वातावरण निर्माण तथा प्रभावकारी कक्षा व्यवस्थापनका विषयमा व्यवहारिक ज्ञान र सीप हासिल गरेका थिए।
सहभागी शिक्षक–शिक्षिकाहरूले प्रशिक्षणबाट प्राप्त ज्ञानलाई विद्यालयमा प्रयोग गरी बालबालिकाको सिकाइ उपलब्धि अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै आयोजक एन प्याब्सन वीरेन्द्रनगर नगर समिति, सुर्खेत ले गुणस्तरीय प्रारम्भिक शिक्षा विकासका लागि यस्ता क्षमता अभिवृद्धिमूलक तालिमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ।
शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै बालबालिकाको सिकाइ अनुभवलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमलाई सहभागीहरूले उपलब्धिमूलक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्।