नेभिगेशन
बजार अर्थतन्त्र

साउनदेखि सबै राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि, न्यूनतम पारिश्रमिक ४० हजारदेखि एक लाखमाथि

सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी गरिएको नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूको पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने भएको छ । यससँगै न्यूनतम मासिक पारिश्रमिक करिब ४० हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँभन्दा माथि पुग्ने सरकारको दाबी छ ।


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै चार वर्षदेखि कर्मचारीको तलब पुनरावलोकन नभएको र यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कका आधारमा १७.३ प्रतिशत मूल्यवृद्धि भएकाले मर्यादित जीवनयापन सुनिश्चित गर्न पारिश्रमिक सुविधा पुनरावलोकन गरिएको बताएका छन् ।


सरकारले हाल कायम रहेको तलब स्केलमा १० प्रतिशत वृद्धि गर्ने तथा नयाँ तलबमानको १० प्रतिशत बराबर कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ । कर्मचारीहरूले हाल पाइरहेको महँगी भत्ता भने यथावत् रहनेछ ।


महालेखा नियन्त्रक कार्यालयका अनुसार हाल राज्यकोषबाट तलब खाने कर्मचारीको संख्या करिब ६ लाख छ । बढेको तलब निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी तथा जनप्रतिनिधि र राज्यकोषबाट तलब खाने पदाधिकारीहरूमा समेत लागू हुनेछ ।


अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार हालको न्यूनतम तलब स्केलमा १० प्रतिशत वृद्धि गरेपछि सोही बढेको तलबमा थप १० प्रतिशत प्रोत्साहन भत्ता जोडिनेछ । त्यसमा ग्रेड र महँगी भत्ता समेत समावेश गरी कुल पारिश्रमिक निर्धारण गरिनेछ ।
बजेट वक्तव्यअनुसार नयाँ व्यवस्थाबाट कर्मचारीले हाल पाइरहेको पारिश्रमिकको तुलनामा करिब २१ प्रतिशत खुद वृद्धि प्राप्त गर्नेछन् । उदाहरणका लागि, हाल कार्यालय सहयोगी पाँचौँ तहको सुरुआती तलब स्केल ३२ हजार ८५६ रुपैयाँ रहेकोमा तलब वृद्धि, प्रोत्साहन भत्ता, ग्रेड र महँगी भत्ता जोड्दा कुल मासिक पारिश्रमिक ४९ हजार १३५ रुपैयाँ पुग्नेछ ।
प्रत्यक्ष तलब सुविधाबाहेक सरकारले कर्मचारीका लागि अन्य सुविधा पनि निरन्तरता दिएको छ ।

प्रत्येक कर्मचारीको तलब तथा ग्रेडको १० प्रतिशत रकम सञ्चयकोषमा जम्मा गरिनेछ भने सावधिक जीवन बीमाबापत प्रतिव्यक्ति ४ सय रुपैयाँसमेत सरकारले व्यहोर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update