नेभिगेशन
खेलकुद

कर्णाली प्रदेश तेक्वान्दो संघका सबैभन्दा कान्छो सदस्य बने प्रविन बयक

लामो समयदेखि तेक्वान्दो खेलमार्फत आफ्नो पहिचान बनाउँदै आएका खेलाडी प्रविन बयक कर्णाली प्रदेश तेक्वान्दो संघको सदस्यमा चयन भएका छन्। खेलाडीका रूपमा सुरु भएको उनको यात्रा अब तेक्वान्दो खेलको संस्थागत विकास र नेतृत्वको जिम्मेवारीसम्म पुगेको छ।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बयकले संघको सदस्य पद आफ्नो लागि सम्मान मात्र नभई तेक्वान्दो खेल, खेलाडी र संस्थाको विकासका लागि थपिएको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन्। उनले आफूलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने गुरु, अभिभावक, अग्रज, साथीभाइ तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।


बयकले विशेष रूपमा आफ्ना गुरु तथा अभिभावक भुवन थापा, नन्दा बश्याल र विकास कार्कीप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको मार्गदर्शन, प्रेरणा र विश्वासले आफूलाई खेलकुद तथा संगठनात्मक क्षेत्रमा अघि बढ्न प्रेरित गरेको उल्लेख गरेका छन्।
उनले संघको पदाधिकारी बने पनि आफ्नो पहिलो पहिचान सधैं खेलाडी नै रहने बताएका छन्। संस्थागत जिम्मेवारीसँगै खेलाडीका रूपमा पनि निरन्तर सक्रिय रहने, सिक्ने र नयाँ पुस्ताका खेलाडीलाई प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


बयकले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, समर्पण र परिणाममुखी कार्यमार्फत पूरा गर्ने अठोट व्यक्त गर्दै तेक्वान्दो खेलको विकास, खेलाडीको हकहित संरक्षण र संगठनलाई थप सशक्त बनाउने दिशामा काम गर्ने बताएका छन्।


तेक्वान्दो क्षेत्रमा सक्रिय युवा खेलाडीका रूपमा परिचित बयकको संघको सदस्य पदमा आगमनले कर्णाली प्रदेशको तेक्वान्दो खेल विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update