नेभिगेशन
समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन, सुरक्षा जाँच कडा

नेपाल–भारत सीमा नाका जमुनाहामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ। पछिल्लो समय लागुऔषध ओसारपसार तथा अवैध गतिविधि बढ्दै गएको भन्दै नियन्त्रणका लागि तालिम प्राप्त कुकुर प्रयोगमा ल्याइएको हो।


सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको सामान कुकुरमार्फत सुँघेर जाँच गर्न थालिएको छ। नाकामा परिचालित दुई वटा तालिम प्राप्त कुकुरले विशेषगरी लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्न सहयोग गरिरहेका छन्।


गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार अब नियमित रूपमा यस्ता तालिम प्राप्त कुकुरहरू सीमा नाकामा तैनाथ गरिने जानकारी दिए। उनका अनुसार कुकुर परिचालनसँगै अवैध ओसारपसार, सीमा अपराध तथा शङ्कास्पद गतिविधि नियन्त्रणमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।


जिल्ला प्रहरी कार्यालय बाँकेले पनि एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा भन्सार शुल्क अनिवार्य तिर्नुपर्ने नियममा कडाइ गरिएपछि नाकाको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन कुकुर परिचालन गरिएको जनाएको छ।
सीमा क्षेत्रमा सुरक्षा जाँच कडा पारिएसँगै यात्रु तथा व्यवसायीहरूलाई आवश्यक कागजात र कानुनी प्रक्रिया पालना गर्न सुरक्षा निकायले आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update