युवाहरूको सक्रिय सहभागिता, सामाजिक उत्तरदायित्व र नेतृत्व विकासको उद्देश्यसहित अघि बढिरहेको युवा सञ्जाल बाँसगढीको साधारण सभा तथा ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट राज थारुको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सहभागीहरूले युवा सञ्जाल बाँसगढीले आगामी दिनमा अझ प्रभावकारी रूपमा सामाजिक अभियानलाई अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा निवर्तमान अध्यक्ष एकनारायण अधिकारीले आफ्नो कार्यकालमा संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न रचनात्मक तथा सामाजिक कामहरू गर्दै आएको बताए। उनले युवाहरूलाई संगठित गर्दै सामाजिक चेतना अभिवृद्धि, समुदायको विकास र बाँसगढीको समृद्धिका लागि संस्थाले निरन्तर पहल गरेको उल्लेख गरे।
अधिकारीले आफ्नो नेतृत्वमा साथ दिने सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगीहरूलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिले विगतका सकारात्मक कामलाई अझ विस्तार गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने अपेक्षा व्यक्त गरे। साथै उनले नयाँ नेतृत्वलाई आगामी यात्रामा आवश्यक सहयोग, सल्लाह र सहकार्य निरन्तर रहने प्रतिबद्धता समेत जनाए।
युवा सञ्जाल बाँसगढीले स्थापना कालदेखि नै समाजमा देखिएका विभिन्न समस्या समाधान र युवाहरूको क्षमता विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। संस्थाले बालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, लागुऔषध नियन्त्रण अभियान, महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम, विपद्को समयमा उद्धार तथा सहयोग, युवाहरूलाई सीपमूलक तालिम प्रदान गर्ने लगायतका थुप्रै सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको छ।
युवाहरूलाई केवल भविष्यका नेतृत्वकर्ता मात्र नभई वर्तमानका परिवर्तनका संवाहकका रूपमा अघि बढाउने लक्ष्यसहित युवा सञ्जाल बाँसगढीले शिक्षा, सामाजिक जागरण, नेतृत्व विकास र समुदाय केन्द्रित अभियानमा निरन्तर योगदान दिँदै आएको छ।
नवगठित कार्यसमितिले “युवा एकता, नेतृत्व रूपान्तरण” भन्ने मूल नारालाई आत्मसात गर्दै युवाहरूको हक, हित र सहभागितालाई थप मजबुत बनाउने, समाजमा सकारात्मक सोच र परिवर्तनको अभियानलाई गति दिने प्रतिबद्धता जनाएको छ।
नयाँ नेतृत्वसँगै युवा सञ्जाल बाँसगढीले आगामी दिनमा अझ सशक्त, व्यवस्थित र प्रभावकारी रूपमा सामाजिक विकासका गतिविधि सञ्चालन गर्ने अपेक्षा गरिएको छ।