नेभिगेशन
समाचार

राउटे समुदायका लागि कर्णाली सरकारको घुम्ती सेवा नीति, शिक्षा र स्वास्थ्य सेवा गाउँमै पुग्ने

कर्णाली प्रदेश सरकारले दक्षिण एसियाकै घुमन्ते तथा लोपोन्मुख समुदाय राउटे समुदायका लागि विशेष घुम्ती सेवा सञ्चालन गर्ने नीति ल्याएको छ। प्रदेश सरकारले ‘राउटे नीति’ तयार गर्दै उनीहरूको परम्परागत घुमन्ते जीवनशैलीलाई मध्यनजर गरी शिक्षा, स्वास्थ्य तथा पोषण सेवा प्रभावकारी रूपमा उपलब्ध गराउने योजना अघि सारेको हो।


सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार घुम्ती सेवा कार्यनीतिअनुसार राउटे समुदाय बसोबास गर्ने स्थानमै पुगेर मोबाइल प्रणालीमार्फत आधारभूत शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यक सेवा प्रदान गरिनेछ।


नीतिमा राउटे समुदायका बालबालिकालाई उनीहरू बसोबास गरिरहेको स्थानमै घुम्ती आधारभूत शिक्षा उपलब्ध गराउने व्यवस्था गरिएको छ। विगतमा लेखपढ गरे पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदायका बालबालिका पछिल्लो समय विभिन्न संस्थाको पहलमा शिक्षातर्फ आकर्षित भइरहेका छन्।
प्रदेश सरकारले राउटे समुदायको जीवन सहज बनाउन अस्थायी आवास निर्माण गर्ने नीति पनि अघि सारेको छ। सुर्खेत, दैलेख, जाजरकोट, सल्यान लगायतका जिल्लामा उनीहरूको इच्छाअनुसार बसोबास गर्ने स्थानमा अस्थायी आवास निर्माण गरिने जनाइएको छ।


त्यसैगरी, राउटे समुदाय बसोबास गर्ने क्षेत्रमा घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरी निःशुल्क उपचारको व्यवस्था गरिनेछ। स्वास्थ्य समस्या न्यूनीकरणका लागि खानपान, लत्ताकपडा र आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराउने नीति सरकारले लिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update