जाजरकोट जिल्लाको चुनावी इतिहास नेपाली राजनीतिमा निरन्तर परिवर्तन, कडा प्रतिस्पर्धा र विचारधारात्मक संघर्षको जीवन्त अभिलेख हो। पञ्चायतकालीन व्यवस्थादेखि बहुदलीय लोकतन्त्र हुँदै संघीय संरचनासम्म आइपुग्दा यहाँका मतदाताले पटक–पटक फरक–फरक राजनीतिक शक्तिलाई जनमत सुम्पिँदै आएका छन्। समयअनुसार बदलिँदो राजनीतिक चेतना र जनआकांक्षाले जाजरकोटलाई सधैं चासोको केन्द्रमा राखेको छ।
पञ्चायतकालीन निर्वाचनको पृष्ठभूमि
२०१५ सालमा भएको आम निर्वाचनमा जाजरकोटबाट नेपाली कांग्रेसका स्वयमप्रकाश विक्रम शाह विजयी भएका थिए। त्यसपछि १७ वर्षपछि, २०३२ सालमा सम्पन्न राष्ट्रिय पञ्चायतसभा निर्वाचनमा भक्तबहादुर कार्की निर्वाचित भए।
२०३८ सालको पञ्चायतसभा निर्वाचनमा दीपबहादुर सिंह विजयी भई वन सहायक मन्त्रीसमेत बने भने २०४३ सालको निर्वाचनमा तेजविक्रम शाह विजयी हुँदै आपूर्ति सहायक मन्त्रीको जिम्मेवारी सम्हाले। यस अवधिमा जाजरकोटबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताहरू उदाएका देखिन्छन्।
बहुदलीय व्यवस्थापछिको राजनीतिक प्रतिस्पर्धा
२०४८ सालमा बहुदलीय व्यवस्थापछि भएको आम निर्वाचनमा जाजरकोट दुई निर्वाचन क्षेत्रमा विभाजित थियो। क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका द्धारिका प्रसाद प्रधान र क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका कृष्णबहादुर शाही विजयी भए।
२०५१ सालको मध्यावधि निर्वाचनमा क्षेत्र नम्बर–१ बाट कांग्रेसका झलकनाथ वाग्ले र क्षेत्र नम्बर–२ बाट दीपकजंग शाह निर्वाचित भए।
त्यसैगरी २०५६ सालको आम निर्वाचनमा क्षेत्र नम्बर–१ बाट राप्रपाका गोविन्द विक्रम शाह र क्षेत्र नम्बर–२ बाट एमालेका रत्नप्रसाद न्यौपाने विजयी भए। यो अवधिमा जाजरकोटको राजनीति बहुदलीय प्रतिस्पर्धाले थप सशक्त बनेको देखिन्छ।
संविधानसभा निर्वाचन र माओवादीको उदय
२०६४ सालको पहिलो संविधानसभा निर्वाचन जाजरकोटका लागि ऐतिहासिक रह्यो। यस निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा नेकपा (माओवादी) ले सफलता हात पार्यो। क्षेत्र नम्बर–१ बाट कालीबहादुर मल्ल र क्षेत्र नम्बर–२ बाट भक्तबहादुर शाह विजयी भए। त्यसयता जाजरकोटको राजनीतिमा माओवादीको उपस्थिति निरन्तर कायम रहँदै आएको छ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर–१ बाट माओवादीका शक्तिबहादुर बस्नेत निर्वाचित भए भने क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका राजीवविक्रम शाह विजयी भए।
संघीय संरचनापछिको राजनीतिक यात्रा
२०७४ सालमा संघीय संरचना अनुसार भएको प्रतिनिधिसभा निर्वाचनमा जाजरकोट एकल निर्वाचन क्षेत्र कायम गरियो। उक्त निर्वाचनमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र नेपाली कांग्रेसका राजीवविक्रम शाहबीच कडा प्रतिस्पर्धा भयो। एमालेको समर्थनसमेत पाएका बस्नेतले ३२ हजार २८१ मत प्राप्त गर्दै विजयी भए भने शाहले २३ हजार २८९ मत ल्याए।
यसै निर्वाचनअन्तर्गत प्रदेशसभा (क) तर्फ वाम गठबन्धनका साझा उम्मेदवार गणेशप्रसाद सिंह १६ हजार ९११ मतसहित विजयी भए। प्रदेशसभा (ख) तर्फ वाम गठबन्धनकै उम्मेदवार करवीर शाहीले १५ हजार १८५ मत प्राप्त गर्दै सफलता हासिल गरे।
२०७९ को निर्वाचन र निरन्तरता
२०७९ सालको मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले पुनः शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनायो। कांग्रेससहितको सत्तागठबन्धनको समर्थनमा उनले लगातार तेस्रो पटक निर्वाचन जित्दै ‘ह्याट्रिक’ पूरा गरे।
प्रदेशसभा (क) तर्फ गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंहले १८ हजार ५४३ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर सिंहले ११ हजार ४७० मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार कमानबहादुर खड्काले ४४६ मत ल्याए।
प्रदेशसभा (ख) तर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाहले १६ हजार ४० मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष खीमबहादुर शाहीले १० हजार ५३० मत प्राप्त गरे।
आगामी निर्वाचनप्रतिको चासो
अब आगामी फागुनमा हुने निर्वाचनलाई लिएर जाजरकोटमा पुनः राजनीतिक सरगर्मी बढेको छ। सबै प्रमुख दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक शक्तिबहादुर बस्नेत नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट जाजरकोटबाटै प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।
बदलिँदो गठबन्धन, मतदाताको धारणा र राजनीतिक समीकरणका बीच जाजरकोटको आगामी निर्वाचन परिणामलाई देशभर चासोका साथ हेरिएको छ।