नेभिगेशन
समाचार

सुर्खेतमा रा स्व पाको उम्मेदवार टुंगो,

राष्ट्रिय स्वतन्त्र पार्टी (रा स्व पा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुर्खेत जिल्लाका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीले सुर्खेत क्षेत्र नम्बर–१ बाट टेकबहादुर सिंह र सुर्खेत क्षेत्र नम्बर–२ बाट रमेश कुमार सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
रा स्व पाले सार्वजनिक गरेको उम्मेदवार सूचीसँगै सुर्खेतको राजनीतिक माहोल थप तातिएको छ। पछिल्ला वर्षहरूमा वैकल्पिक राजनीति र सुशासनको एजेन्डा लिएर उदाएको रा स्व पाले सुर्खेतमा पनि नयाँ अनुहार र परिवर्तनको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ।
यसपटकको निर्वाचनमा सुर्खेत राजनीतिक रूपमा निकै चासोको केन्द्र बनेको छ। राप्रपाबाट नेता ज्ञानेन्द्र शाही,  युवा नेता रवि किरण हमाल जस्ता अनुहारहरू चुनावी चर्चामा छन्। यस्तै, लामो समयदेखि सुर्खेतको राजनीतिमा प्रभाव राख्दै आएका कांग्रेस नेता पूर्णबहादुर खड्काले भने यसपटक प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेका छन्।

उनको यो निर्णयसँगै सुर्खेतको परम्परागत राजनीतिक समीकरणमा परिवर्तन आउने संकेत देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार स्थापित नेताको अनुपस्थिति र नयाँ तथा युवा उम्मेदवारहरूको सक्रियताले सुर्खेतमा प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ।

रा स्व पाले भ्रष्टाचारविरुद्धको अभियान, सेवा प्रवाहमा सुधार र नागरिकसँग प्रत्यक्ष जोडिने राजनीति आफ्नो मुख्य एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएको जनाएको छ।
पार्टीका स्थानीय नेताहरूले सुर्खेतका मतदाताले यसपटक नयाँ सोच, नयाँ नेतृत्व र जवाफदेही राजनीतिलाई साथ दिने विश्वास व्यक्त गरेका छन्। उम्मेदवार टुंगो लागेसँगै रा स्व पाले सुर्खेतमा चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको छ।
सुर्खेतमा देखिएको यो नयाँ राजनीतिक तरंगले आगामी निर्वाचनको नतिजा कता मोडिन्छ भन्ने विषयमा सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्म चासो बढाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update