नेभिगेशन
राजनीति

विशेष महाधिवेशनले कांग्रेस एकताबद्ध हुन्छ कि विभाजनतिर धकेलिन्छ?

महाधिवेशनको मागसँगै चुलिँदै गएको आन्तरिक विवादले पार्टी एकतामा जाने कि पुनः विग्रहको बाटो समाउने भन्ने गम्भीर प्रश्न उठाएको छ। पार्टीभित्रै दुई धार स्पष्ट देखिन थालेपछि कांग्रेस विभाजनको संघारमै पुगेको हो कि भन्ने आशंका कांग्रेस पंक्तिभर फैलिएको छ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले कांग्रेस नफुट्ने दाबी गरिरहेका छन्। तर संस्थापन पक्ष भने यही प्रक्रियाले पार्टीलाई विभाजनतिर लैजान सक्ने चेतावनी दिइरहेको छ। नेतृत्वबीचको यही टकरावले कांग्रेसको भविष्य अनिश्चित बन्दै गएको छ।
गगन थापाले पार्टी एकताका लागि “विष पिएर भए पनि” तयार रहेको अभिव्यक्ति दिएलगत्तै विश्वप्रकाश शर्माले कांग्रेस फुट्ने अवस्था आए विशेष महाधिवेशन हलबाट सबैभन्दा पहिले आफू बाहिरिने बताएका छन्। तर संस्थापन पक्षका नेताहरूले भने पदाधिकारीले व्यक्तिगत रूपमा विशेष महाधिवेशन आह्वान गर्नु विधानविपरीत भएको ठहर गर्दै त्यसलाई मान्यता नदिने स्पष्ट सन्देश दिएका छन्।
यसैबीच कांग्रेसभित्र छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले नेतृत्वलाई पार्टी विभाजनउन्मुख नबनाउन चेतावनी दिएका छन्। विगतमा कांग्रेस विभाजनको पीडा पार्टी र देशले भोगिसकेको स्मरण गराउँदै उनले सभापति शेरबहादुर देउवालाई भेटेरै पुनः त्यही गल्ती नदोहो¥याउन आग्रह गरेका हुन्।
जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टीभित्रको असन्तुलन र नेतृत्वमाथि उठेका प्रश्नका कारण विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले २९ असोजमा हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा निवेदन बुझाएका थिए। तर १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल अन्त्यतिर पुगेको कारण देखाउँदै संस्थापन पक्षले विशेष महाधिवेशन सम्भव नरहेको तर्क गर्‍यो।


केन्द्रीय कार्यसमितिबाट अपेक्षित निर्णय नआएपछि विशेष महाधिवेशन पक्षधर समूहले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्दै २७–२८ पुसका लागि विशेष महाधिवेशन आह्वान गर्‍यो। यसप्रति कांग्रेस केन्द्रीय कार्यालयले कडा आपत्ति जनाउँदै यस्तो अधिकार कुनै व्यक्तिलाई नहुने स्पष्ट पारेको छ। त्यसको केही समयपछि महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै पहिलोपटक औपचारिक रूपमा विशेष महाधिवेशन आह्वान गरे।
विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरबीच विधानको आ–आफ्नै व्याख्या भइरहेको छ। विशेष पक्षधरले कांग्रेस विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मागपछि विशेष महाधिवेशन अनिवार्य हुने तर्क गरिरहेका छन् भने संस्थापन पक्षले विधि र प्रक्रिया मिचिएको आरोप लगाइरहेको छ।


यही विवादका बीच कांग्रेसको इतिहास फेरि स्मरणमा आउन थालेको छ। २०१४ सालमा विराटनगरमा सम्पन्न विशेष महाधिवेशन कांग्रेसका लागि त्याग र एकताको प्रतीक बनेको थियो। बदलिँदो राजनीतिक सन्दर्भ बुझ्दै तत्कालीन सभापति सुवर्णशमशेरले स्वविवेकले पद त्याग गरी बीपी कोइरालालाई नेतृत्व सुम्पिएका थिए। “शान्तिपूर्ण लडाइँका लागि सक्षम र गतिशील नेतृत्व आवश्यक छ,” भन्दै गरिएको त्यो नेतृत्व हस्तान्तरणले कांग्रेसलाई एकढिक्का बनायो र त्यसकै परिणामस्वरूप पहिलो आम निर्वाचनमा कांग्रेसले १०९ मध्ये ७४ सिट जितेर ऐतिहासिक सफलता हासिल गर्‍यो।


आज फेरि कांग्रेस त्यही ऐतिहासिक मोडको सम्झनामा छ। प्रश्न उही छ—के वर्तमान नेतृत्व सुवर्णशमशेरजस्तै त्याग र दूरदर्शिता देखाउन सक्छ ? कि विशेष महाधिवेशन कांग्रेस विभाजनको कारक बन्नेछ ?
इतिहासले कांग्रेसलाई एकताको बाटो देखाइसकेको छ। तर त्यो बाटो पछ्याउने कि नपछ्याउने भन्ने निर्णय अहिलेको नेतृत्वको हातमा छ। यसको नतिजा कता जान्छ भन्ने कुरा भने आउँदा केही दिनले स्पष्ट गर्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update