बर्दिया, बढैयाताल — बर्दियाको ऐतिहासिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण बढैयाताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ। नामअनुसार नै गाउँपालिकाको पहिचान बनेको यो ताल हाल अस्तित्वको सङ्कटमा पर्न थालेको स्थानीयवासीको चिन्ता छ।
बढैयाताल गाउँपालिका–५ मा अवस्थित यो ताल बर्दियाका पुराना र विशाल तालहरूमध्ये एक मानिन्छ। विसं २०६५ मा नापी कार्यालय बर्दियाले गरेको सीमाङ्कनअनुसार १०७ बिघा चार कट्ठा १७।५ धुर क्षेत्रफलमा फैलिएको यो ताल अहिले अतिक्रमण, प्रदूषण र सरकारी बेवास्ताका कारण दिनप्रतिदिन खुम्चिँदो अवस्थामा पुगेको छ।
स्थानीय कर्णबहादुर थापा तालको संरक्षणमा सरोकारवाला निकायहरूको बेवास्ता दुःखद भएको बताउँछन्। “गाउँपालिकाको नाम नै यही तालबाट राखिएको हो, तर आज यही ताल संकटमा पर्नु हाम्रो लाजमर्दो स्थिति हो,” उनले भने।
चराचुरुङ्गी संरक्षणमा पनि असर
गाउँपालिका–४ का पूर्ववडाध्यक्ष थापाका अनुसार पछिल्ला ६–७ वर्षमा ताल क्षेत्र वरपर चराचुरुङ्गीको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ। प्लास्टिक प्रदूषण र लुकीछिपी गरिने सिकारका कारण साइबेरियालगायत दूरदेशबाट आउने पाहुना चराहरू आउन छाडेका छन्।
“एउटै समयमा सयौं प्रजातिका चरा देखिने यो ताल अहिले सुनसान छ,” वडा नं ५ का पूर्ववडासदस्य रामकुमार विक भन्छन्, “प्लास्टिकका बोतल, सिसाका टुक्रा, र अन्य फोहोरले तालको स्वरूप बिग्रँदै गएको छ।”
अतिक्रमणको समस्या
वडा नं ५ का अध्यक्ष तुलाराम चौधरी ताल वरपरको सार्वजनिक जमिन भूमाफियाले अतिक्रमण गर्न थालेको आरोप लगाउँछन्। “यसविरुद्ध आवाज उठाउँदा उल्टै हामीमाथि मुद्दा हाल्ने काम भइरहेको छ,” उनी भन्छन्।
उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगञ्ज, नापी कार्यालय र मालपोत कार्यालय बर्दियाको संयुक्त अनुगमनले अतिक्रमणको दाबी गरिएको जग्गा वास्तवमै ताल क्षेत्रभित्र पर्छ भन्ने प्रमाणित गरिसकेको छ।
नीति र पहलको खाँचो
तालको संरक्षण तथा प्रवर्द्धनका लागि स्पष्ट नीतिसहित काम हुनुपर्नेमा वडाध्यक्ष चौधरी जोड दिन्छन्। “यो ताल केवल हाम्रो सम्पत्ति मात्र होइन, भावी पुस्ताका लागि उत्तराधिकार पनि हो,” उनी भन्छन्, “अब गाउँपालिकाले नै अग्रसरता लिनुपर्छ। स्थानीय, प्रदेश र संघीय सरकार तथा अन्य सरोकारवालाबीच समन्वय गरेर ताल संरक्षण र पर्यावरणीय पर्यटन विकासतर्फ गम्भीर पहल आवश्यक छ।”
निष्कर्षमा, पर्यटकीय सम्भावनाले भरिपूर्ण बढैयातालको अस्तित्व जोगाउन तत्काल संरक्षण र व्यवस्थापन आवश्यक छ। नत्र, नाम मात्रैको पहिचान बोकेको यो ताल इतिहासका पानामा सीमित हुने डर स्थानीय बासिन्दाको मात्र होइन, समग्र बर्दियाको चिन्ताको विषय बन्नेछ।