नेभिगेशन
शिक्षा

शिक्षा क्षेत्रमा उत्कृष्ट योगदानको कदर: कर सिंह बुढा र रामकृष्ण थारु सम्मानित

लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय, बाँकेद्वारा आयोजित विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारी प्रोत्साहन एवं सम्मान कार्यक्रम अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकाबाट उत्कृष्ट शिक्षक र विद्यालय कर्मचारी सम्मानित भएका छन्।
       कार्यक्रममा बालकल्याण आधारभूत विद्यालय, थुमनीका प्रधानाध्यापक तथा श्री कर सिंह बुढा उत्कृष्ट शिक्षकका रूपमा सम्मानित हुनुभएको छ।            त्यस्तै बर्दिया बहुमुखी क्याम्पस तथा त्रिभुवन माध्यमिक विद्यालय, ककौराका लेखापाल श्री रामकृष्ण थारु उत्कृष्ट विद्यालय कर्मचारीका रूपमा सम्मानित हुनुभएको हो।


शिक्षा क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदान, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा निर्वाह गर्नुभएको सक्रिय भूमिका, अनुशासित कार्यशैली तथा जिम्मेवारीपूर्ण सेवाको कदर गर्दै उहाँहरूलाई प्रदेशस्तरमा सम्मान गरिएको आयोजकले जनाएको छ। 
शिक्षा क्षेत्रको विकासमा समर्पित व्यक्तिहरूलाई गरिएको यस्तो सम्मानले शिक्षक तथा विद्यालय कर्मचारीको मनोबल बढाउनुका साथै गुणस्तरीय शिक्षा प्रवाहमा थप प्रेरणा मिल्ने विश्वास गरिएको छ। स्थानीय शिक्षा सरोकारवालाले पनि यो सम्मान बाँसगढी नगरपालिकाका लागि गौरवको विषय भएको बताएका छन्।


सम्मानित कर सिंह बुढा र रामकृष्ण थारुलाई विभिन्न शैक्षिक, सामाजिक तथा स्थानीय संघ–संस्थाहरूले बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकास, विद्यार्थीको उज्ज्वल भविष्य निर्माण तथा समाजप्रति समर्पित सेवामा निरन्तर सक्रिय रहन सफलताको कामना गरेका छन्।
           यस सम्मानले समर्पित शिक्षक र कर्मचारीको मेहनत तथा योगदानको राज्यस्तरबाट भएको मूल्यांकनलाई उजागर गर्नुका साथै शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update