नेभिगेशन
समाचार

भ्रष्टाचार आरोपको प्रतिवाद गर्दै अर्थमन्त्रीले भने- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र ! ती पनि खुल्नेछन्’

अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि लागेको भ्रष्टाचार तथा अनियमितताको आरोपको खण्डन गर्दै आरोप प्रमाणित भए मन्त्री पद मात्रै नभई सार्वजनिक जीवनसमेत त्याग्ने बताएका छन्।


बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले आफूबाट कुनै किसिमको बेइमानी भएको प्रमाणित भए जिम्मेवारीबाट हट्ने बताए।
उनले भने, “२ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने पनि मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न तयार छु।”
वाग्लेले आफूमाथि प्रश्न उठाउने सांसदहरूमा पनि यस्तै नैतिक आँट र जिम्मेवारी हुनुपर्ने बताए। उनले भने, “तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ हो र ? ती पनि खुल्नेछन्।”


उनले सांसदहरूले आफ्नो गरिमा कायम राख्नुपर्ने भन्दै सम्मानित संसद्को ओज घटाउने गतिविधि नगर्न आग्रह गरे।
अर्थमन्त्री वाग्लेले करका दर चलाएर व्यापारीलाई फाइदा पुर्‍याएको भन्ने आरोपको समेत खण्डन गर्दै सुशासन र पारदर्शिताको एजेन्डाबाट आफूहरू पछि नहट्ने बताए।


उनले सरकार अस्थिरता अन्त्य गर्दै नयाँ दिशातर्फ अघि बढ्न खोजिरहेको उल्लेख गर्दै बजेट विकासको आधार तयार गर्ने माध्यम मात्र भएको बताए। “बजेट सर्वस्व होइन, २१ खर्बले भविष्यका लागि बिउ रोप्ने काम गर्छ,” उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update