नेभिगेशन
समाचार

कृषि प्रयोगशालाकी कर्मचारी चन्द्रा सिंह मृ*त्यु प्रकरण : प्रशासनका नायब सुब्बा पक्राउ

एकीकृत कृषि प्रयोगशाला सुर्खेतकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत **नायब सुब्बा कविलाल बी.सी.**लाई नियन्त्रणमा लिएको छ।


जाजरकोटको भेरी नगरपालिका–१ स्थायी घर भएकी सिंह विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशालामा नायब प्राविधिक सहायक पदमा कार्यरत थिइन्। उनी वीरेन्द्रनगर–७, इत्रामस्थित कार्यालयकै आवास गृहको शौचालयमा बेहोस अवस्थामा भेटिएकी थिइन्।


उद्धारपछि उनलाई तत्काल देउती अस्पताल हुँदै प्रदेश अस्पताल, सुर्खेत पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
उनको अस्वाभाविक मृत्युपछि श्रीमान महेश बस्नेतले आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले साउन १६ गते वीरेन्द्रनगर–८, खजुराबाट कविलाल बी.सी.लाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानमा चन्द्रा सिंह र बी.सी.बीच फेसबुकमार्फत नियमित संवाद भएको तथा केही शंकास्पद च्याट फेला परेको छ।


       “प्रारम्भिक अनुसन्धानमा उहाँहरूबीच फेसबुक च्याटमा कुराकानी हुने गरेको र केही शंकास्पद विषयहरू समावेश भएको पाइएको छ। अदालतबाट म्याद थप गरी घटनाका सम्पूर्ण पाटाहरूको गहन अनुसन्धान भइरहेको छ,” एसपी पोखरेलले बताए।
प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान जारी रहेको जनाएको छ। पक्राउ परेका बी.सी.विरुद्धको अनुसन्धानपछि मात्रै चन्द्रा सिंहको मृत्युको वास्तविक कारण र घटनाको सत्यतथ्य खुल्ने अपेक्षा गरिएको छ।
     यसैबीच, चन्द्रा सिंहको आइतबार अन्त्येष्टि गरिएको परिवारले जनाएको छ। उनको असामयिक निधनले परिवार, आफन्त तथा सहकर्मीहरू शोकमा डुबेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update