नेभिगेशन
समाचार

डिएलए काठमाडौंमा सबैभन्दा कान्छा सदस्य बने अधिवक्ता मुकेश सेन्चुरी, युवा नेतृत्वप्रति बढ्यो विश्वास

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) काठमाडौं जिल्ला कार्यसमितिको पाँचौँ अधिवेशनबाट अधिवक्ता मुकेश सेन्चुरी सदस्य पदमा निर्वाचित भएका छन्। उनी नयाँ कार्यसमितिमा सबैभन्दा कान्छा सदस्यका रूपमा निर्वाचित भएका हुन्।
कानुनी पेशासँगै विद्यार्थी राजनीति, सामाजिक अभियान र खेलकुद क्षेत्रमा सक्रिय सेन्चुरीले बहुआयामिक नेतृत्वमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन्।

नेपाल ल क्याम्पसबाट बी.ए.एल.एल.बी. (BALLB) अध्ययन पूरा गरेका उनले सोही क्याम्पसबाट फौजदारी तथा वाणिज्य कानुन विषयमा एल.एल.एम. अध्ययनसमेत गरेका छन्।
विद्यार्थी राजनीतिबाट नेतृत्व यात्रा सुरु गरेका सेन्चुरीले नेपाल ल क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन्। साथै, नेपाल बार एसोसिएसनअन्तर्गत नवोदित कानुन व्यवसायी सरोकार समितिको सदस्य सचिवका रूपमा पनि उनले महत्वपूर्ण योगदान दिएका छन्।

    कानुनी र शैक्षिक क्षेत्रमा सक्रिय सेन्चुरी खेलकुदमा पनि उत्तिकै समर्पित छन्। राष्ट्रिय कराते खेलाडीका रूपमा उनले विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्। युवा नेतृत्व, अनुशासन, इमानदारी र सेवाभावलाई आत्मसात् गर्दै उनी कानुन व्यवसायसँगै सामाजिक सेवामा पनि निरन्तर सक्रिय छन्।

     सेन्चुरी सिन्धुपाल्चोक जिल्लाबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गर्ने पहिलो दलित अधिवक्ताका रूपमा समेत परिचित छन्। उनले सामाजिक न्याय, समावेशी नेतृत्व, समानता तथा कानुनी सचेतनाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्।
डिएलए काठमाडौंको पाँचौँ अधिवेशनबाट सबैभन्दा कान्छा सदस्यका रूपमा निर्वाचित भएपछि कानुन व्यवसायी तथा युवा पुस्ताले उनको नेतृत्व क्षमता र सक्रियतामाथि विश्वास व्यक्त गरेका छन्।

निर्वाचित भएपछि सेन्चुरीले आफूलाई विश्वास गरी जिम्मेवारी सुम्पिने सम्पूर्ण मतदाता, शुभेच्छुक र सहकर्मीप्रति आभार व्यक्त गर्दै डिएलएलाई अझ सशक्त, प्रभावकारी र व्यावसायिक संगठनका रूपमा विकास गर्न पूर्ण प्रतिबद्धताका साथ काम गर्ने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update