कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको राजनीतिक यात्रा केवल पद र जिम्मेवारीको कथा होइन, त्यो शिक्षण पेसा, जनयुद्ध, जेलजीवन, वैचारिक उतारचढाव र लामो राजनीतिक सङ्घर्षको दस्तावेज पनि हो। शिक्षकको स्थिर जीवन त्यागेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका शाही आज कर्णाली प्रदेशको नेतृत्वमा पुगेका छन्।
मुगुको दुर्गम गाउँबाट राजनीतिक यात्राको सुरुवात
२०२५ साल भदौ १६ गते हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका–६, सोरुकोटमा जन्मिएका शाहीले प्रारम्भिक शिक्षा सोरुकोट प्राथमिक विद्यालयबाट पूरा गरेका थिए। त्यसपछि जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयबाट २०४४ सालमा एसएलसी उत्तीर्ण गरे।
उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेका उनी नेपाल ल क्याम्पसमा भर्ना भए। त्यही क्रममा तत्कालीन नेकपा (माले) निकट अनेरास्ववियु (एकताको पाँचौँ) मा आबद्ध हुँदै विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरे।
शिक्षक र राजनीतिक कार्यकर्ता—दुवै जिम्मेवारी सँगसँगै
अध्ययन सकेर २०४६ सालमा मुगु फर्किएका शाहीले शिक्षण पेसा रोजे। शिक्षकका रूपमा काम गर्दै उनले राजनीतिलाई पनि निरन्तर अघि बढाए। जनआन्दोलनपछि खुलेको राजनीतिक वातावरणमा अनेरास्ववियु (एकताको छैटौँ) मा सक्रिय बनेका उनी पछि नेकपा एमाले गठन भएपछि साधारण सदस्यका रूपमा पार्टीमा आबद्ध भए।
शिक्षण पेसामा रहँदै एमालेको इलाका कमिटी सचिवको जिम्मेवारी सम्हालेका उनले नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमार्फत पनि सक्रिय भूमिका निर्वाह गरे। उनी दुई वर्ष अस्थायी र ११ वर्ष स्थायी गरी १३ वर्ष शिक्षक रहे। त्यस अवधिमा मुगुका १६ वटा विद्यालयमा अध्यापन गराए।
राजनीतिक आस्थाकै कारण सरुवा र दबाब
२०४८ र २०५१ सालको निर्वाचनपछि नेपाली कांग्रेसको सरकार बनेपछि एमाले निकट शिक्षकहरूलाई सरुवा, काज र विभिन्न प्रशासनिक दबाब दिने क्रम बढेको उनी स्मरण गर्छन्।
‘हामीलाई पटक–पटक काजमा पठाइन्थ्यो, छ–छ महिनामा सरुवा गरिन्थ्यो,’ उनी विगत सम्झिन्छन्।
हिरासतदेखि जनयुद्धमा पूर्णकालीन प्रवेश
२०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर शाही विजयी भए पनि निर्वाचनका क्रममा भएको झडपपछि मङ्गलबहादुर शाहीमाथि ज्यान मार्ने उद्योगको मुद्दा लाग्यो। उनी नौ दिन हिरासतमा बसे।
हिरासतबाट छुटेपछि आफ्नै पार्टीभित्रको व्यवहारबाट निराश बनेका उनी क्रमशः माओवादी आन्दोलनतर्फ आकर्षित भए। भूमिगत रहेका साथीहरूको सुझाव र आफ्नै राजनीतिक निष्कर्षपछि उनले २०५८ साल भदौमा शिक्षकको जागिर त्यागेर माओवादी जनयुद्धमा पूर्णकालीन ‘होलटाइमर’ कार्यकर्ताको रूपमा प्रवेश गरे।
जनयुद्धका कठिन दिन र पारिवारिक पीडा
२०५९ सालमा माओवादीको जिल्ला कमिटी सदस्य बनेका शाहीले पार्टी र शिक्षक संगठन दुवै जिम्मेवारी सम्हाले। जनयुद्धका क्रममा उनले डोल्पाको माझफाल घटनामा सात जना सहयात्री गुमाएको पीडादायी सम्झना अझै मनमा बोकेका छन्।
जनयुद्धमा सक्रिय रहेकै कारण उनका परिवारले पनि ठूलो दुःख भोग्नुपरेको थियो। प्रशासनले पक्राउ गर्न खोजेपछि उनका बुबा लामो समय लुकेर बस्नुपरेको र अन्ततः काठमाडौं पुगेर आश्रय लिनुपरेको उनी बताउँछन्।
उनका अनुसार जनयुद्धका क्रममा उनी धेरै पटक तत्कालीन सुरक्षा फौजको घेराबाट जोगिएका थिए।
“हाम्रो जिन्दगी त नाफाको जिन्दगी हो। हामी मृत्युलाई जितेर आएको हो, यो देशको राज्यसत्ता बदल्नका लागि,” शाही भन्छन्।
शान्ति प्रक्रिया, वैचारिक विभाजन र पुनः माओवादीमा फर्किने निर्णय
शान्ति प्रक्रियापछि २०६४ सालमा उनी मुगु जिल्लाको डीसीएसको जिम्मेवारीमा पुगे। २०६५ सालमा जिल्ला इन्चार्ज बने।
२०७० सालमा वैद्य नेतृत्वको नेकपा–माओवादीतर्फ लाग्दै संविधानसभा निर्वाचन बहिष्कार आन्दोलनमा सहभागी भएका उनी त्यस क्रममा १८ दिन हिरासतमा पनि बसे।
तर २०७१ सालमा मुलुकमा गणतन्त्र र सङ्घीयताको संस्थागत विकास प्रचण्ड नेतृत्वको मूलधारबाट मात्रै सम्भव हुने निष्कर्षसहित उनी पुनः माओवादी केन्द्रमा फर्किए।
निर्वाचनदेखि प्रदेश नेतृत्वसम्म
२०७९ सालको प्रदेशसभा निर्वाचनमा मुगु निर्वाचन क्षेत्र नं. २ बाट पहिलो पटक उम्मेदवार बनेका शाही पहिलो प्रयासमै विजयी भए। प्रदेशसभामा निर्वाचित भएपछि उनी सरल, इमानदार र सङ्घर्षशील नेताका रूपमा परिचित बने।
हाल उनी नेकपाका केन्द्रीय सदस्य रहँदै कर्णाली प्रदेशको नेतृत्व सम्हालिरहेका छन्।
पारिवारिक जीवन
आईएलसम्म अध्ययन गरेका शाही पाँच दाजुभाइ–दिदीबहिनीमध्ये जेठा छोरा हुन्। उनी दुई छोरा र चार छोरीका पिता हुन्।
सङ्घर्षबाट स्थापित नेतृत्व
मुगुको दुर्गम गाउँबाट सुरु भएको मङ्गलबहादुर शाहीको यात्रा विद्यार्थी राजनीतिदेखि शिक्षक, शिक्षकबाट जनयुद्धका पूर्णकालीन कार्यकर्ता, हिरासत, वैचारिक विभाजन, शान्ति प्रक्रिया हुँदै प्रदेश सरकारको नेतृत्वसम्म आइपुगेको छ। अनेक उतारचढाव, राजनीतिक जोखिम र व्यक्तिगत त्यागबीच अघि बढेको उनको जीवनयात्रा नेपाली राजनीतिक इतिहासको एउटा महत्त्वपूर्ण अध्यायका रूपमा हेरिन्छ।