जेन–जी आन्दोलनकै क्रममा सुर्खेतमा अराजक समूहले संघ, प्रदेश र स्थानीय तहका कार्यालयसँगै व्यक्तिगत घरहरूमा समेत व्यापक क्षति पुर्याएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार सात जना सार्वजनिक पद धारण गरेका व्यक्तिका घर, चार राजनीतिक दलका पार्टी कार्यालय, पाँच प्रदेशअन्तर्गतका कार्यालय, १८ संघीय तथा अन्य सार्वजनिक कार्यालय र एक बैंकको एटीएम आंशिकदेखि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बुढथापाका अनुसार आन्दोलनकारीले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उनका भाइहरू डा. डम्बर खड्का र विष्णु खड्काको घरमा पूर्ण रूपमा क्षति पुर्याएका छन्। यस्तै, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल र मुख्यमन्त्री यामलाल कँडेलको निजी आवासमा पनि आंशिकदेखि पूर्ण क्षति पुगेको छ।
वीरेन्द्रनगर–६ स्थित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयहरूमा व्यापक तोडफोड तथा आगजनी हुँदा ती कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन्।
प्रदेश सरकारअन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको सरकारी निवास, मुख्य न्यायाधिवक्ताको कार्यालय, कर्णाली प्रदेशसभा र प्रदेश लेखा नियन्त्रक कार्यालयमा समेत तोडफोड र आगलागीले आंशिकदेखि पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ।
त्यसैगरी, वीरेन्द्रनगर–८ मा रहेको नगरपालिकाको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, नापी कार्यालय, उच्च सरकारी वकिल कार्यालय, सिटिहल, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, जिल्ला समन्वय समिति कार्यालय लगायतका संघीय तथा प्रदेशस्तरीय संरचना आंशिक क्षतिग्रस्त भएका छन्। एनआईसी एशिया बैंकको एटीएम भने पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १, २, ३, ४, ६, ७, ८, ९, १० र ११ को कार्यालयमा समेत आंशिकदेखि पूर्ण क्षति पुगेको छ। त्यस्तै, वीरेन्द्रनगर–४ स्थित रेडक्रस र हिमाली पुस्तकायलामा पनि तोडफोड र आगलागी भएको छ।
क्षति मूल्यांकन समिति गठन
घटनापछि सार्वजनिक र निजी सम्पत्तिमा पुगेको क्षति आकलन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको छ। समिति तीन दिनभित्र क्षतिको विवरण संकलन गरी सार्वजनिक गर्नेछ।
प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायका अनुसार समितिको प्रतिवेदनका आधारमा क्षतिको औपचारिक मूल्यांकन र आवश्यक कारबाही अघि बढाइनेछ। उनले आगलागीबाट क्षति पुगेका कार्यालयहरूको सेवा आइतबारदेखि नै निरन्तरता दिने विषयमा छलफल भइरहेको जनाए।
“देश अहिले विषम परिस्थितिमा छ। सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या नहोस् भनेर सम्बद्ध निकायलाई संयमित भएर वातावरण तयार गर्न निर्देशन दिइसकिएको छ,” प्रजिअ उपाध्यायले बताए।