“अब कुरा सुनौं युवाहरूको” भन्ने प्रेरणादायी नारासहित कर्णालीको समृद्धि र उज्ज्वल भविष्यको बाटो पहिल्याउने उद्देश्यका साथ भोलि शुक्रबार सुर्खेतमा युवा प्रादेशिक बहस भव्य रूपमा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कर्णाली युवा सोसाइटी को आयोजनामा हुने यो कार्यक्रम मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय सभाहलमा बिहान ११ बजे सुरु हुनेछ।
आयोजक संस्थाकी अध्यक्ष सुप्रिया शाही का अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लाबाट उत्साहका साथ आएका युवाहरूको प्रत्यक्ष सहभागितामा कार्यक्रम सञ्चालन हुनेछ। “यो बहस केवल विचार आदान–प्रदानको मञ्च मात्र होइन, कर्णालीको विकास, रोजगार सिर्जना, शिक्षा, खेलकुद र सामाजिक रुपान्तरणको साझा मार्गचित्र तयार गर्ने ऐतिहासिक अवसर हो,” अध्यक्ष शाहीले बताइन्।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहको आतिथ्यको रूपमा उपस्थित रहनुहुनेछ। साथै, बहसलाई प्रेरणादायी बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा क्रियाशील ख्यातिप्राप्त वक्ताहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन हुनेछ।
वक्ता सूचीमा रहेका छन् —
शर्मीला बीसी – मनोसामाजिक परामर्शकर्ता
रविकिरण हमाल – युवा उत्प्रेरक वक्ता
दीपेश शाही – प्रेरक वक्ता
प्रकाश खड्का – अन्तर्राष्ट्रिय खेलाडी
आदर्श विक्रम सिंह – युवा अभियन्ता
प्रतिमा केसी – सामाजिक अभियन्ता
कार्यक्रमले कर्णालीका युवालाई नेतृत्व, उद्यमशीलता, सामाजिक उत्तरदायित्व र समावेशी विकासतर्फ उर्जा र चेतना फैलाउने अपेक्षा गरिएको छ। बहसका दौरान युवाहरूले आफ्ना अनुभव, चुनौती र समाधानका दृष्टिकोण राख्ने अवसर पाउनेछन्, जसले नीति निर्माण तहसम्म सकारात्मक सन्देश पुर्याउने आयोजकको विश्वास छ।
कर्णाली प्रदेशका विविध पृष्ठभूमिका युवाहरूको एक ठाउँमा भेला भई समृद्ध प्रदेशको कल्पना र कार्ययोजना तयार पार्ने यो प्रयास, स्थानीयदेखि राष्ट्रिय तहसम्म युवा आवाज बलियो बनाउन महत्वपूर्ण मञ्च सावित हुने पत्रकार सम्मेलन गरी आयोजक टिमले दाबी गरेका छन्।