नेभिगेशन
समाचार

स्वास्थ्य मन्त्रालयको एक वर्ष: आधारभूत अस्पतालदेखि बीमा सुधारसम्मका उल्लेखनीय उपलब्धि सार्वजनिक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्तमान सरकार गठनपछिको एक वर्षको अवधिमा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सीमित स्रोतसाधनका बीच मन्त्रालयले उल्लेखनीय काम गरेको दाबी गर्दै आगामी योजना र रणनीतिसमेत सार्वजनिक गरे।

मन्त्री पौडेलका अनुसार आधारभूत अस्पताल सञ्चालन, डेङ्गी नियन्त्रण, एचपिभी खोप अभियान, विपद् व्यवस्थापन, आपतकालीन तयारी तथा तीनै तहबीच समन्वय गर्दै कर्मचारी समायोजनमा स्पष्टता ल्याउनु मन्त्रालयका प्राथमिक उपलब्धि हुन्।

उनले बताएअनुसार, मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमार्फत २ हजार १०० जना नयाँ जनशक्ति थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको छ। साथै, एक दर्जनभन्दा बढी नयाँ विधेयकहरू तयारीको अन्तिम चरणमा छन्।

स्वास्थ्य बीमा प्रणालीमा आमूल सुधार गरिएको जनाउँदै उनले अनलाइनमार्फत बिमा नवीकरण, दीर्घरोगमा पुनः रिफरको झन्झट हटाउने व्यवस्था, एक महिनाको बिमा अवधि लागू गर्ने, र आठ प्रकारका जटिल रोगमा २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा सुनिश्चित गरिएको जानकारी दिए। ती रोगमा क्यान्सर, मुटु, मिर्गौला र स्पाइनल इन्जुरीजस्ता गम्भीर रोगहरू परेका छन्।

पूर्वाधारतर्फ मन्त्रालयले हालसम्म ११३ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न गरिसकेको छ भने ५५ अस्पताल सञ्चालनका लागि तयारी अवस्थामा छन्। यस्तै, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि संघीय अस्पतालहरूमा दुई सिफ्टको ओपिडी सेवा सुरु गरिएको छ।

सरकारी अस्पतालहरूमा पक्षघात, सिकलसेल एनिमिया, थालसेमिया र हेमोफिलियाजस्ता रोगको औषधि र उपचार सेवा निःशुल्क गरिएको पनि उनले जानकारी दिए।

मन्त्री पौडेलले ‘राष्ट्रिय जनसङ्ख्या नीति २०८२’ पारित गरिएको उल्लेख गर्दै, सन्तुलित, व्यवस्थित र समावेशी जनसङ्ख्याको लक्ष्यका साथ जनसंख्या नीति कार्यान्वयनमा ल्याइएको बताए।

"हामीले थालनी गरेका यी सुधार कार्यक्रमहरू दीर्घकालीनरूपमा स्वास्थ्य क्षेत्रको मजबुत आधार बन्नेछन्। आगामी वर्षभित्रमा अझ सुलभ, गुणस्तरीय र दिगो स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो," मन्त्री पौडेलले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update