नेभिगेशन
समाचार

जेनजी आन्दोलनले कर्णालीमा ६० भौतिक संरचना र ४५ सवारीसाधन ध्वस्त, अर्बौँको क्षति

जिम्मेवार न्युज -

भदौ २३ र २४ गते कर्णाली प्रदेशमा भएको जेनजी आन्दोलनले सार्वजनिक र निजी सम्पत्तिमा अर्बौँको क्षति पु¥याएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णालीको अनुगमन अनुसार, आन्दोलनका क्रममा प्रदेशका १० जिल्लामा गरी ६० वटा भौतिक संरचना र ४५ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी भएको छ।

सबैभन्दा बढी क्षति प्रदेश राजधानी सुर्खेतमा भएको छ। इन्सेकका अनुसार सुर्खेतमा मात्रै २८ वटा सरकारी संरचना, ८ वटा निजी सम्पत्ति, ५ वटा राजनीतिक दलका पार्टी कार्यालय र ३ वटा संघसंस्थाका कार्यालय गरी ४४ भौतिक संरचना तोडफोड र आगजनीमा परेका छन्।
प्रदेशसभा भवन, सिटी हल, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ। १२ वटा वडा कार्यालयसमेत जलाइएका छन्।

इन्सेकका संयोजक नारायण सुवेदीका अनुसार आन्दोलनमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा लगायत दलका पार्टी कार्यालय र शीर्ष नेताहरूको निवासमा समेत क्षति पुगेको छ। काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवास, मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास, नगरप्रमुख मोहनमायाँ ढकाल र उपप्रमुख नीलकण्ठ खनालको निवास, प्रदेश अस्पतालका पूर्वनिर्देशक डा. डम्बर खड्काको निवास र माया पेट्रोल पम्पमा समेत तोडफोड र आगजनी गरिएको छ।

सुर्खेतमा मात्रै ११ सरकारी गाडी, ८ मोटरसाइकल, २ निजी गाडी र ५ मोटरसाइकलमा क्षति पुगेको छ। जुम्लामा ६ वटा कार्यालयमा तोडफोड र आगजनी हुँदा ८ सरकारी गाडी, ११ मोटरसाइकल, एम्बुलेन्स, शववाहन र दमकल समेत ध्वस्त भएका छन्। कालीकोटमा ७ पार्टी कार्यालय, मुगुमा काँग्रेस र एमालेको कार्यालय, डोल्पामा काँग्रेस नगर समिति कार्यालय रहेको घरमा तोडफोड भएको छ।

नापी कार्यालयमा गम्भीर असर

आन्दोलनकै क्रममा सुर्खेत नापी कार्यालयमा २०२८ सालदेखिका जग्गा नक्सा, निर्णय, दस्तावेजलगायतका कागजात जलेर नष्ट भएका छन्। २२ वटा कम्प्युटर, नेटवर्किङ, सिसी क्यामरा, डिजिटल टोकनलगायतका उपकरण नष्ट हुँदा कार्यालयले अर्को सूचना नआएसम्म सेवा प्रवाह गर्न नसक्ने जनाएको छ।
कार्यालय प्रमुख दिनेश भण्डारीका अनुसार ‘वीरेन्द्रनगर–७, ८ र ९ का नयाँ नापीका कागजातसहित सम्पत्तिको प्रमाण मानिने अधिकांश कागजात खरानी भएका छन्।’ बाक्लो फलामे दराजमा भएका केही फिल्ड बुक मात्र जोगिएका छन् भने फर्निचर र भौतिक संरचना बाहेक दुई करोडभन्दा बढीको क्षति भएको छ।

हाल कार्यालयका कर्मचारीहरू क्षतिको विवरण संकलन र सरसफाइमा जुटेका छन्। मालपोत कार्यालयसँग समन्वय गरेर केही तथ्यांक रिकभर गर्ने प्रयास भइरहेको भए पनि पुरानो अवस्थामा फर्कन अझै समय लाग्ने देखिएको छ।

अर्बौँको सार्वजनिक तथा निजी सम्पत्ति ध्वस्त

इन्सेक कर्णालीका अनुसार, आन्दोलनले कर्णालीमा सरकारी कार्यालय, पार्टी कार्यालय, निजी घर र संस्थाका भौतिक संरचना मात्र नभई सवारीसाधन, कागजात र उपकरणहरू समेत ध्वस्त बनाएको छ। यसले सेवा प्रवाहमा समस्या र जनस्तरमा असहजता सिर्जना गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update