नव वर्षको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उत्साहजनक युवाहरुको सहभागिताबीच जाजरकोटमा औपचारिक रूपमा “जाजरकोट युवा सञ्जाल” गठन गरिएको छ। सामूहिक सल्लाह, सहमति र सक्रिय बहसपछि युवाहरुले जिल्लाको विकास र सुशासनमा योगदान पुर्याउने उद्देश्यसहित सञ्जाल स्थापना गरेका हुन्।
नवगठित सञ्जालको अध्यक्षमा कमल सिंह चयन भएका छन् भने उपाध्यक्षद्वयमा दिपक खत्री र बिक्रम शाही छन्। सचिवमा ललित वि.क., सहसचिवमा बिरेन्द्र जैसी र बिरेन्द्र रावत तथा कोषाध्यक्षमा गणेश राज वि.क. चयन भएका छन्। यसैगरी ४५ सदस्यीय कार्यसमिति गठन गरिएको सञ्जालले जनाएको छ। प्रमुख सल्लाहकारमा प्रकाश वि.क. र सल्लाहकारमा उपेन्द्र जैसी लगायतका युवाहरुको सक्रिय सहभागिता रहेको छ।
सञ्जाल गठनसँगै युवाहरुले अब केवल आलोचनामा सीमित नरही, प्रत्यक्ष रूपमा समाधानतर्फ उन्मुख हुने प्रतिबद्धता जनाएका छन्। भ्रष्टाचार न्यूनीकरण, विकासमा जनसहभागिता, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, रोजगारी सिर्जना र आत्मनिर्भरता जस्ता मुख्य एजेन्डालाई केन्द्रमा राख्दै सञ्जालले दीर्घकालीन कार्ययोजना अघि बढाउने तयारी गरेको छ।
कार्यक्रममा सहभागी युवाहरुले “परिवर्तन अरुले होइन, हामी आफैले सुरु गर्नुपर्छ” भन्ने सन्देश दिँदै अबको पुस्ता जिम्मेवार, सचेत र सक्रिय बन्ने समय आएको बताएका छन्। उनीहरुको भनाइमा, जाजरकोटको सम्भावनालाई उजागर गर्दै सकारात्मक नेतृत्व र सहकार्यमार्फत जिल्लालाई नयाँ दिशामा लैजान सकिन्छ।
नयाँ वर्षसँगै सुरु भएको यो पहलले जाजरकोटका युवाहरुमा ऊर्जा, एकता र आशाको सन्देश फैलाएको छ। अबको यात्रा—संगठन, सहकार्य र परिणाममुखी अभियानतर्फ केन्द्रित हुने सञ्जालले जनाएको छ।