नेभिगेशन
समाचार

बजेटमार्फत् माग सम्बोधन गर्छौं आन्दोलन त्याग्नुस् सरकारको शिक्षकलाई आग्रह,

शिक्षकका सबै खालका माग आर्थिक वर्ष ०८२/८३ को बजेटमा सेमेट्ने र संसद्बाट प्रक्रियागत रूपमै ऐन बनाउने प्रस्ताव गर्दै सरकारले आन्दोलनरत शिक्षकहरूलाई आन्दोलन विसर्जन गर्न आग्रह गरेको छ ।

सरकारले आन्दोलरत शिक्षकका सबै माग सम्बोधन गर्न प्रतिबद्ध रहेको भन्दै आन्दोलन विसर्जन गर्न आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकका सबै खालका माग आर्थिक वर्ष ०८२/०८३ को बजेटमार्फत् सम्बोधन हुने र ऐन निर्माणको प्रक्रिया पनि अघि बढ्ने भन्दै आन्दोलन विसर्जन गर्न अनुरोध गरेको हो ।

शिक्षक महासंघको नेतृत्वमा आन्दोलन लम्बिरहेका बेला सरकारले शिक्षकका माग सम्बोधन गर्ने बताएको हो । ‘आगामी वर्षको बजेटबाट सम्बोधन हुन्छ । तत्काल आर्थिक वर्ष ०८२/०८३ मा सबै खालको समस्या समापनको वर्ष बनाउने गरेर गृहकार्य भइरहेको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, ‘ऐन निर्माण प्रक्रियाबाट हुन्छ । शिक्षक पनि राष्ट्रसेवक हो । गुनासो गर्ने ठाउँ नरहने गरी सम्बोधन हुन्छ । सरकार संवेदनशील भएर लागेको छ ।’

माग सम्बोधन गर्न सरकार शिक्षकलाई विश्वस्त पार्न तयार रहेको मन्त्रालयको भनाइ छ । ‘शिक्षा मन्त्रालय आश्वस्त पार्न चाहन्छ । शिक्षा मन्त्रालय अभिभावक पनि हो । सरकार शिक्षकको पीर मर्कालाई सुनेर आर्थिक सामर्थ्य र कानुनको परिधिभित्र रहेर सम्बोधन गर्न तयार छ । सरकारको दायित्व बढाएर अथवा अरु क्षेत्रको बजेट कटाएर भए पनि सम्बोधन गर्ने गृहकार्य भइरहेको छ,’ प्रवक्ता सापकोटाले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update