सुनकोशी गाउँपालिका–३ का २२ वर्षीय कृष्ण बिकको हिरासतमा भएको शंकास्पद मृत्युको निष्पक्ष छानबिनको माग गर्दै सांसदहरू धर्नामा बसेका छन्। सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा र आशिष गजुरेललगायतले बुधबार साँझदेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना सुरु गरेका हुन्।
धर्नामा बसेका सांसदहरूले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख (एसपी), इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर तथा ड्युटीमा खटिएका प्रहरी कमान्डरलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने माग गरेका छन्। साथै, प्रहरीको आन्तरिक उच्चस्तरीय (विज्ञ) छानबिन, संसदीय छानबिन समिति गठन तथा जातीय हिंसामा संलग्न व्यक्तिमाथि कारबाहीको मागसमेत अघि सारेका छन्।
माग पूरा नभएसम्म धर्ना जारी रहने सांसद सुनारले बताएका छन्।
के हो घटना?
कृष्ण बिकको वैशाख ६ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा मृत्यु भएको थियो। प्रहरीले उनी शौचालयको झ्यालमा आफ्नै सटको पासो लगाएर आत्महत्या गरेको दाबी गरेको छ। तर परिवारले उक्त दाबी अस्वीकार गर्दै हत्या भएको आरोप लगाएको छ।
किन राखिएको थियो हिरासतमा?
कृष्णकी आमा विन्दामाया बिकका अनुसार उनले वैशाख ३ गते खोटाङकी १८ वर्षीया निर्जला मगरसँग ललितपुरमा विवाह गरेका थिए। सोही विषयमा बालविवाहको आरोपमा सातदोबाटो प्रहरीले उनलाई पक्राउ गरेको थियो। भोलिपल्ट मिलापत्रका लागि उनलाई खुर्कोट पठाइएको र जिल्ला अदालत सिन्धुलीले पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको थियो।
तर म्याद सकिनु अगावै, वैशाख ६ गते दिउँसो करिब ४ बजे उनको मृत्यु भयो। परिवारका अनुसार प्रहरीले घटनाबारे करिब ६ घण्टा ढिलो जानकारी दिएको थियो।
परिवारको दाबी
कृष्णको मृत्यु प्रहरीको यातनाबाट भएको परिवारको दाबी छ। “पुरानो सटको कपडाले पासो लगाएर मानिस मर्न सक्दैन, त्यो च्यातिन्छ,” कृष्णकी आमा विन्दामाया बिकले भनिन्, “मेरो छोराको हत्या भएको हो, आत्महत्याको कथा बनाइएको छ।”
उनले प्रहरीले छोरा विरुद्ध मुद्दा हाल्ने पक्षसँग भेट्न नदिएको, घटनास्थल अवलोकन गर्नसमेत रोक लगाएको र शव बुझ्न मानसिक दबाब दिएको आरोप लगाएकी छन्। निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने उनको अडान छ।
सांसदहरूको प्रतिक्रिया
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नै घटनाको न्यायिक छानबिनको माग गर्दै धर्ना दिएका हुन्। सांसद रिमा विश्वकर्माले सरकारसँग न्यायको अपिल गर्दै भनिन्, “एकातिर दलित समुदायसँग क्षमायाचना, अर्कोतिर अन्तरजातीय विवाहकै कारण हिरासतभित्र दलित नागरिकको शंकास्पद मृत्यु—सरकारले जवाफ दिनुपर्छ।”
घटनाले देशभर मानवअधिकार, प्रहरी हिरासतको सुरक्षा र जातीय विभेदबारे गम्भीर प्रश्न उठाएको छ। निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग तीव्र बन्दै गएको छ।