नेपाली कांग्रेस र नेकपा एमालेले सत्ताका लागि काँध
मिलाएयता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सम्बन्ध सुमधुर थिएन। एकअर्कालाई घोचपेच गर्नमै तल्लीन उनीहरूबीच नभई नहुने राजनीतिक भेटघाट मात्रै हुन्थ्यो।
तर पछिल्ला केही दिनयताका ओली–प्रचण्डका चालढाल सम्बन्ध सुधार मात्रै होइन, राजनीतिक वृत्तलाई नै तरंगित तुल्याउने किसिमका देखिन्छन्। राष्ट्रबैंककाे गर्भनर नियुक्ति लगायतका विषयलाई लिएर सत्तारुढ कांग्रेस र एमालेबीच खटपट भइरहेका वेला ओली–प्रचण्डका पछिल्ला गतिविधिलाई अर्थपूर्ण मानिएको छ।
सिंहदरबारमा प्रचण्डलाई ओलीले दिएको महत्त्व
संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विषयमा छलफल गर्न १८ वैशाखमा बोलाइएको त्रिपक्षीय (कांग्रेस सभापति शेरबहादुर देउवा, ओली र प्रचण्ड) छलफलमा नगएका प्रचण्डलाई तीन दिनपछि २१ गते ओली एक्लैले भेटे।
त्यसदिन प्रचण्ड कम्युनिष्ट एकताको वकालत गर्दै आएका पार्टीका उपमहासचिव वर्षमान पुनलाई लिएर सिंहदरबार पुगेका थिए। प्रधानमन्त्रीसँग उनका विश्वासपात्र एवं हाल संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकारको भूमिकामा रहेका अग्नि खरेल थिए।
भेट टिआरसीकै विषयमा केन्द्रित रहेको दाबी नेताहरूले गरेका छन् तर ओलीले प्रचण्डलाई जुन उच्च महत्त्व दिएका छन्, त्यसले भेटवार्ता त्यतिमा मात्र सीमित थिएन भन्ने कुरालाई बल पुर्याउँछ।
त्यो भेटमा ओली प्रधानमन्त्रीको कुर्सी छाडेर प्रचण्डसँगै तल बसेका छन्। दायाँतिर ओलीको विश्वासपात्र खरेल हँसिलो मुद्रामा प्रचण्डसँग एउटै सोफामा बसेका छन् भने अगाडितिर माओवादी उपमहासचिव पुन छन्।
संसद्मा देखिएको हार्दिकता
सिंहदरबारमा प्रचण्डप्रति उच्च महत्त्व दर्शाएका ओलीले सोमबार संसद्मा पनि हार्दिकता देखाए। राष्ट्रपतिद्वारा १९ गते पेस भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा सोमबारदेखि छलफल सुरु हुँदै थियो।
नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेर प्रधानमन्त्री अोली रोष्ट्रमबाट फर्किने र प्रचण्ड रोष्ट्रममा जाने क्रममा रोचक दृश्य देखियो।