नेभिगेशन
समाचार

पूर्णागिरीबाट फर्केका ४० तीर्थयात्री बिरामी

पूर्णागिरी मन्दिरको तीर्थयात्राबाट फर्केका कैलालीको एकै वडाका ४० जना बिरामी परेका छन् ।

 

अस्वस्थकर, बिग्रेको खाना खाएका कारण उनीहरु बिरामी परेको जोशीपुर गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नृपबहादुर डङ्गौराले जानकारी दिनुभयो । उहाँले बिरामी परेकाध्ये ३७ जनालाई औषधि दिइएको छ भने अलि गम्भीर समस्या देखिएका तीन जनालाई पिरपरकोटी आधारभूत स्वास्थ्य केन्द्रमा भर्ना गरेर उपचार गर्ने कार्य भइरहेको छ । 

बिरामी परेकामा ज्वरो आउने, बारम्बार पातलो दिसा हुने, पेट दुख्ने, बान्ता हुने, पेट ढुस्स हुने जस्ता समान स्वास्थ्य समस्या देखा परेको जनाइएको छ । एकै वडाका धेरै जना बिरामी परेपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोली पनि जोशीपुर पुगेको छ । उनीहरुको थप परीक्षणका लागि नमुना सङ्कलन गरिने डङ्गौराले बताउनुभयो । 

स्थानीयका अनुसार पूर्णागिरी मन्दिरको दर्शनका लागि वैशाख १६ गते जोशीपुरबाट ४२ जना गएका थिए । भारतको उत्तराखण्ड प्रदेशस्थित चम्पावत जिल्लामा रहेको पूर्णागिरीमा फागु पूर्णिमादेखि बैशाख पूर्णिमासम्म पूर्णागिरी मेला लाग्ने गर्दछ । मेलाको क्रममा पूर्णागिरीको दर्शनका लागि नेपालबाट ठुलो संख्यामा तीर्थालुहरु जाने गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update