वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत र राजलक्ष्मी चटौतले संकलन गर्नुभएको सुदूरपश्चिमेली लोकगीत नामक पुस्तकको आज विमोचन गरिएको छ । सो कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो ।
कृतिका बारेमा कवि एवं भ्याली भ्यू बोर्डिङ स्कुलका प्रिन्सिपल, ग्लोबल कलेजका प्राध्यापक सुभाषचन्द्र भण्डारीले समीक्षा मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा २०८० का लागि नेपाली वाङ्मय साधना सम्मानबाट गोपाल अश्क, पद्मा–रामचन्द्र लघुकथा सम्मानबाट नवराज रिजाल एवं कर्मयोद्धा सृजना सम्मानबाट राजेन्द्र तारकिणी सम्मानित हुनुभयो ।
त्यस्तै २०८१ का लागि आरडी प्रभास–राजलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट प्राडा. महादेव अवस्थी, नेपाली वाङ्मय साधना सम्मानबाट प्राडा. कपिल लामिछाने, राधिका–गोपालदत्त लघुकथा सम्मानबाट ध्रुव मधिकर्मी, कर्मयोद्धा सृजना सम्मानबाट मेघनाथ खनाल ‘बन्धु’ सम्मानित हुनुभयो । यसअघि नै घोषणा गरिएका राधिका–गोपालदत्त लघुकथा सम्मान २०८० का लागि डा. रामनिवास मानवलाई र पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१ डा. हरिप्रसाद भण्डारीलाई दिने घोषणा गरिएको थियो ।
नेपाल वाङ्मय परिषद धनगढी, कैलालीको आयोजनामा आज स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको हो । सो समारोह नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको सभापतित्वमा सम्पन्न भएको छ । संस्थाका सचिवालय सदस्य भुवन बोहराको सञ्चालन एवं पूर्वमन्त्री तथा साहित्यकार शान्ता मानवीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पूर्वमन्त्री तारिणीदत्त चटौत, वरिष्ठ साहित्यकार आरडी प्रभास चटौत, भाषा आयोगका सदस्य सुरेश मानन्धर, साझा प्रकाशनका सञ्चालक सदस्य मनोहर लामिछानेको उपस्थिति थियो । वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, वरिष्ठ साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, प्रखर स्रष्टा सुभाषचन्द्र भण्डारी, राजलक्ष्मी चटौतको समेत सहभागिता थियो ।
कार्यक्रममा प्राडा. महादेव अवस्थी, प्राडा. कपिल लामिछाने, ध्रुव मधिकर्मी, गोपाल अश्क, नवराज रिजाल त्यस्तैगरी मनोहर लामिछाने, आरडी प्रभास चटौत, तारिणीदत्त चटौतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सत्या अधिकारी, मन्दिरा चापागाईंं, मनिषकुमार शर्माले लघुकथा एवं सुभाषचन्द्र भण्डारीले कविता वाचन गर्नुभयो ।
प्रमुख अतिथि शान्ता मानवीले सुदूरपश्चिमबाट आएर राजधानीमा संस्थाका माध्यमबाट महत्वपूर्ण कार्यक्रम गरेकोमा संस्थाका अध्यक्ष एवं संस्थाको प्रशंसा गर्नुभयो । संसार बदल्ने कर्मशील मानिसले मात्र सक्दछ भन्ने विचार उहाँले राख्नुभयो ।