नेभिगेशन
समाचार

केआइआइटीमा नेपाली छात्रा झुन्डिएर मृत भेटिएको सम्बन्धमा कूटनीतिक पहल थालेको परराष्ट्रमन्त्रीको भनाइ

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाप्रति परराष्ट्रमन्त्री आरजु राणाले दुःख व्यक्त गर्दै घटनाबारे कूटनीतिक पहल थालिएको बताउनु भएको छ । 

सामाजिक सञ्जाल 'एक्समा' परराष्ट्रमन्त्री राणाले लेख्नु भएको छ, 'परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्यतथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ ।'

उहाँले प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै दुखद घडीमा उनको परिवाजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

यसैबीच, भारतका लागि नेपाली राजदूत शंकर शर्माले पनि कलेज प्रशासनसँग सम्पर्क गरेको र उडिसा सरकारका उच्चअधिकारी, प्रहरी प्रशासनसँग दूतावास मार्फत सत्यतथ्य छानबिन गर्न कूटनैतिक पहल थालिएको बताउनु भएको छ ।

केआइआइटीमा बीटेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिसा साहलाई गए राति आफ्नै होस्टलको कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएको थियो । 

उडिसा राज्य सरकारले पनि प्रिसाको मृत्युबारे छानबिन गर्ने जनाउँदै घटनास्थलमा फरेन्सिक टिम पुगिसकेको जनाएको छ । उडिसा राज्य सरकारले एक विज्ञप्ति जारी गरी प्रिसाको मृत्युप्रति दुःख व्यक्ति गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update