नेभिगेशन
समाचार

वर्षाले मन्थली-लुक्ला उडान अवरुद्ध, मन्थली मै रोकिए पर्यटक

बिहीबार बिहानैदेखि वर्षा हुँदा रामेछापको मन्थली-लुक्ला उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा सोलुखुम्बुको सगरमाथा क्षेत्र घुम्न आएका पर्यटक रामेछाप सदरमुकाम मन्थली मै रोकिएका छन । 

वर्षाले लुक्लाको मौसम खराब हुँदा बिहीबार अहिलेसम्म मन्थली-लुक्ला उडान हुन नसकेको मन्थली विमानस्थल प्रमुख हिरोण शाहले बताउनुभयो ।

उडान अवरुद्ध हुँदा मन्थलीबाट लुक्ला जाने पर्यटक र लुक्लाबाट फर्कने पर्यटक प्रभावित बनेको उहाँले बताउनुभयो । बिहीबार मन्थलीबाट लुक्ला जाने ५० जना भन्दा बढी पर्यटक मन्थलीमा रोकिएका उहाँले बताउनुभयो । 

अहिले यो सिजनको सगरमाथा क्षेत्र भ्रमण गरी फर्कने समय भइसकेकाले लुक्ला जाने भन्दा फर्कने पर्यटक धेरै रहेको उहाँले बताउनुभयो । अहिले सगरमाथा क्षेत्रमा वसन्त ऋतुको आरोहण चलिरहेको छ । 

चैतदेखि सुरू भएको यो सिजनको आरोहण जेठ महिनासम्म चल्छ । सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमानस्थलको प्रयोग गरी गन्तव्यसम्म पुर्‍याउने गरेको छ । 

चैतदेखि जेठ महिनासम्म र असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमानस्थलमार्फत् बाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरिएको छ । बिहानैदेखि मौसम खुलेको समयमा एकै दिन ८ सय ५० जनासम्म पर्यटक मन्थलीबाट लुक्ला पुग्ने गरेका छन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update