नेभिगेशन
विश्व

हालको नियन्त्रण रेखाको आधारमा युक्रेनसँगको युद्ध रोक्ने पुटिनको प्रस्ताव

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालको नियन्त्रण रेखाको आधारमा युक्रेनसँगको युद्ध रोक्ने प्रस्ताव गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहल गरेको युद्धविरामको सफलताका लागि अहिले जुन-जुन ठाउँमा ज-जसको नियन्त्रण छ त्यहाँ उनीहरूकै नियन्त्रण रहने गरी युद्ध रोक्न तयार रहेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

ट्रम्पका विशेष दूत स्टिभ विटकफले अप्रिल महिनाको शुरूमा गरेको रूस भ्रमणका बेला पुटिनले त्यस्तो प्रस्ताव गरेको मानिन्छ।

सन् २०१४ मा युक्रेनको क्राइमिया प्रान्त कब्जा गरेको रूसले २०२२ फेब्रुअरीमा युक्रेनमा हमला गरेपछि युक्रेनका थप चार क्षेत्रमा आफ्नो दाबी गरेको छ।

हाल युक्रेनको नियन्त्रण भएको ती चार क्षेत्रको केही स्थानमा पनि युद्धविरामपछि रूसकै नियन्त्रण हुनुपर्ने माग पुटिनले गर्दै आएका छन्। तर विटकफसँगको पछिल्लो भेटमा भने युक्रेनको नियन्त्रणमा रहेको ती स्थानमा आफ्नो दाबी छोड्न तयार रहेको पुटिनले बताएको भनेर फाइनान्सियल टाइम्सले खुलासा गरेको छ।

पुटिनको प्रस्तावलाई युक्रेनमा हमला गरेको तीन वर्षमा पहिलो पटक युद्ध अन्त्य गर्न लचकता देखाएको भनेर अमेरिकाले लिएको छ।

त्यसको जबाफमा क्राइमिया प्रायद्वीपमाथि रूसको स्वामित्वलाई मान्यता दिन अनि चार क्षेत्रका भागहरूमा रूसी नियन्त्रण स्वीकार गर्न अमेरिका तयार भएको हो। यद्यपि युक्रेन भने अझै पनि क्राइमियालाई मान्यता दिन नहुने भन्दै आइरहेको छ।

युरोपेली देशहरूले पनि अहिलेको पुटिनको प्रस्ताव मान्यो भने उनले ट्रम्पसामु थप मागहरू राख्नेछन् भनेर सचेत गराएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update