नेभिगेशन
विश्व

रूसको कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प, चार मिटर सुनामी आएको पुष्टि

रूसको सुदूरपूर्वी क्षेत्र कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। प्रशान्त महासागरको १९.३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएर गएको यो भूकम्पले स्थानीयवासीमा ठूलो त्रास फैलिएको छ।

कामाचाट्काका गभर्नर भ्लादिमिर सोलोडोभका अनुसार यो दशकौँयताकै सबैभन्दा गम्भीर भूकम्प हो। “अत्यन्त शक्तिशाली धक्का महसुस भयो,” उनले बताएका छन्। भूकम्पका कारण एक विद्यालय पूर्ण रूपमा ध्वस्त भएको उनले जानकारी दिएका छन्।

यद्यपि भूकम्प समुद्रमा केन्द्रित रहेकाले जमिनमा ठूलो क्षति नगरेको प्रारम्भिक अनुमान गरिएको छ। तर, क्षतिको विस्तृत विवरण आउन बाँकी नै छ। अमेरिकी सञ्‍चारमाध्यम सिएनएनका अनुसार भूकम्पपछि चार मिटर अग्लो सुनामी आएको पुष्टि भएको छ।

त्यस्तै, मुख्य भूकम्पपछि पराकम्पनहरू पनि गइरहेका छन्, जसले जनजीवन अझै प्रभावित बनाइरहेको छ। स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन आह्वान गरेको छ।

रूसी र अन्तर्राष्ट्रिय उद्धार टोलीहरू घटनास्थलमा परिचालन भइसकेका छन्। यस प्राकृतिक विपत्तिबाट थप मानवीय वा भौतिक क्षतिको विवरण पर्खनुपर्ने देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update