नेभिगेशन
समाचार

चीनको चोङकिङमा माओवादी केन्द्र र सीपीसीका नेताहरूबीच भेटवार्ता

चीनको चोङकिङ भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र) को उच्चस्तरीय भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को चोकिङ सहरका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको छ ।

बिहीबार साँझ चोङकिङ सहरको पार्टी स्कुल विभागमा भएको भेटवार्तामा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा, केन्द्रीय सदस्य रामद्वीप आचार्य, लेखनाथ न्यौपाने र नेताहरू सहभागी थिए ।

सो अवसरमा सचिव शर्माले माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच गहिरो सम्बन्ध रहेको बताए । 'यो पार्टी–पार्टीबीचको मात्र सम्बन्ध होइन, हामीबीच जनस्तरको सम्बन्ध पनि घनिष्ट छ । चीनप्रति सबै नेपालीले गहिरो माया, प्रेम र सम्मान प्रकट गर्दै आएका छन्', उनले भने ।

सचिव शर्माले चिनियाँ विद्वानले इतिहासमा नेपालमा बुद्ध जन्मेको विषय बाहिरी विश्वलाई जानकारी गराएर नेपालको महत्त्व बढाएको उल्लेख गर्दै चीन र नेपालको सम्बन्ध सांस्कृतिक, धार्मिक, आर्थिकसहित बहुआयामिक रहेको बताए । 'यस्ता भेटवार्ताले नेपाल–चीन मित्रतालाई थप गहिरो र घनिष्ट बनाउने छ, यहाँको विकासले हामीलाई प्रभावित गरेको छ । नेपालले चीनसँग सिक्ने विषय धेरै छन् । कतिपय विषयमा नेपालले चीनसँग समझदारी गरेर अगाडि बढ्ने नीति लिएको छ,' उनले भने ।

भेटवार्तामा चीनको चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रले वैचारिक विषयमा अनुभव आदानप्रदान र तालिम कार्यक्रमलाई थप व्यवस्थित तरिकाले सञ्चालन गर्न दुवै दल सहमत भएका छन् । सो अवसरमा चोङकिङ नगरका पार्टी स्कुल विभागका प्रमुख लियु सियोउले चीनले नेपालसँगको सम्बन्धलाई ज्यादै महत्त्व दिएको र दुई देशबीचका जनतालाई पारस्पारिक लाभ हुनेगरी काम गर्न र सहकार्यका लागि आफूहरू सदैव तत्पर रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update