नेभिगेशन
समाचार

सन्दीप र रविको मुद्दामा भएको आदेश कसरी कपी–पेष्ट भयो ?

दुवै मुद्दाको थुनछेक आदेशमा न्यायाधीश रमेश ढकाल संलग्न थिए । सन्दीपको मुद्दाको आदेशमा थुनछेक सम्बन्धी सिद्धान्त र अरु मुलुकका उदाहरण भएका अनुच्छेदहरु रवि लामिछानेको आदेशमा हुबहु सारेको देखिन्छ ।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासले सहकारी ठगीको मुद्दा खेपिरहेका पूर्वगृहमन्त्री एवं रवि लामिछानेलाई थुनामा पठाउने आदेश गर्‍यो । न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीले शुक्रबार जारी गरेको आदेशको ठूलो हिस्सा हुबहु सारेको(कपी-पेष्ट) गरेको फेला परेको छ ।

सांकेतिक नाम गौशाला–२६ माथि बलात्कार गरेको आरोप खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश गर्दा उच्च अदालत पाटनले जारी गरेको आदेशको ठूलो हिस्सा कपी पेष्ट गरेर रवि लामिछानेलाई थुनामा पठाउने आदेश तयार गरेको देखिन्छ ।

२८ पुस, २०७९ मा उच्च अदालत पाटनका न्यायाधीशहरु ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने आदेश गरेका थिए । त्यो आदेशको आधाभन्दा बढी भाग सारेर न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

न्यायाधीश रमेश ढकाल दुवै इजलासमा संलग्न थिए । उनले नै उच्च अदालत पाटनबाट क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्दा तयार पारेको आदेशको मस्यौदा नै रविलाई थुनामा पठाउने आदेश लेख्दा प्रयोग गरेको अनुमान गर्न सकिन्छ । सन्दीप लामिछानेको मुद्दाको आदेश २० पेजको थियो भने रवि लामिछानेलाई थुनामा पठाउने आदेश १० पेजको छ ।

कुनै व्यक्तिलाई थुनामा पठाउने वा छाड्ने आदेश लेख्दा अदालतहरुमा एकखालको ‘फर्म्याट’ नै हुन्छ । सुरूमा निवेदकका कानुन व्यवसायीहरुको नामसहित उनीहरुले गरेको बहसको सारसंक्षेप लेखिन्छ । त्यसपछि अर्को पक्षका कानून व्यवसायीहरुको नामसहित उनीहरुले गरेको बहसको सारसंक्षेप समावेश हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update