नेभिगेशन
स्वास्थ्य

अस्पतालमै एक्स–रे मेशिन मर्मत हुन थालेपछि सेवा सुचारु गर्न सहज

जिल्ला अस्पतालमा बायो–मेडिकल सेवा सुचारु भएपछि एक्स–रेसहित उपचारका लागि आवश्यक विभिन्न उपकरणको मर्मत अब अस्पतालमै हुन थालेको छ। उपकरणमा खराबी आएपछि तत्काल मर्मत गरी सेवा नियमित गर्न सकिने भएपछि अस्पतालको उपचार सेवा सुचारु गर्न सहज भएको हो।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीका अनुसार केही समयअघि जनशक्तिसहित अस्पतालमै बायो–मेडिकल ल्याब स्थापना भएपछि बिरामी उपचार नियमित रूपमा सञ्चालन गर्न सहज भएको छ। यसअघि उपकरणमा खराबी आएमा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता हुँदा महिनौँसम्म उपचार सेवा अवरुद्ध हुने समस्या थियो।

हाल बायो–मेडिकल ल्याब स्थापना भएसँगै एक्स–रे मेशिनलगायतका उपकरणमा खराबी आएमा तत्काल मर्मत हुने व्यवस्था मिलेको छ। मर्मतका कारण बढीमा एक–दुई दिन मात्रै सेवा अवरुद्ध भए पनि त्यसपछि पुनः सुचारु हुने गरेको छ। गत बिहीबार एक्स–रे मेशिनमा समस्या आए पनि अस्पतालमै रहेको बायो–मेडिकल ल्याबमा मर्मत सम्भव भएपछि शुक्रबारदेखि सेवा पुनः सञ्चालन गर्न सकिएको थियो।

यस व्यवस्थाले सेवा नियमित बनाउन मात्र नभई उपकरण मर्मतका लागि जिल्ला बाहिर पठाउँदा लाग्ने आर्थिक बोझसमेत घटेको छ। साथै उपकरण बिग्रँदा बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता पनि हटेको छ।

बायो–मेडिकल ल्याब स्थापना भएपछि जिल्ला अस्पताल मात्र नभई जिल्लाभरका स्वास्थ्य संस्थामा रहेका उपकरणमा खराबी आएमा पनि मर्मत सहज भएको छ। लामो समयदेखि जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका निस्ट साइमोनको आर्थिक सहयोगमा उक्त बायो–मेडिकल ल्याब जिल्ला अस्पतालमा स्थापना गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update