नेभिगेशन
राजनीति

एमाले कार्यकर्तालाई योगेश भट्टराईको आग्रह: निर्णयप्रति विचलित नहुनु, एकताका साथ उम्मेदवार जिताउन सक्रिय रहनु

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीका पछिल्ला निर्णयप्रति विचलित नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले अझ उच्च मनोबल र एकताका साथ पार्टीका उम्मेदवारलाई विजयी बनाउन आ–आफ्नो स्थान र हैसियतबाट सक्रिय रहन आह्वान गरेका हुन्।


भट्टराईले लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।’


यसैबीच, शनिबार बसेको एमाले सचिवालय बैठकले ७७ वटै जिल्लाका लागि उम्मेदवार चयन गर्ने निर्णय गरेको छ। एमाले नेता लेखराज भट्टका अनुसार केही जिल्लाबाहेक अधिकांश स्थानमा उम्मेदवारको टुंगो लागिसकेको छ।


उपमहासचिव भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङ भने हाललाई बाँकी राखिएको छ। बाँकी रहेका केही निर्वाचन क्षेत्रका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले थप परामर्श गरी अन्तिम निर्णय लिने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update