नेभिगेशन
समाचार

कालीकोटका युवा विदेशिँदा बिरामी बोक्ने जिम्मा महिला र बालबालिकाकै काँधमा

नगरपालिका भनिएपछि सहरी सुविधा, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित खानेपानी र सुलभ सडक पहुँचको अपेक्षा गरिन्छ । तर कर्णालीका पहाडी नगरपालिकाको वास्तविकता यी परिकल्पनाभन्दा निकै फरक छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भएको झन्डै एक दशक पुग्न लाग्दासमेत कालीकोटको रास्कोट नगरपालिकामा आधारभूत सेवा-सुविधा अझै पहुँचबाहिर छन् । यसको ज्वलन्त उदाहरण हो रास्कोट नगरपालिका–५ रानागाउँ, जहाँ बिरामी बोकेर अस्पताल पुर्‍याउने जिम्मा महिला र बालबालिकाकै काँधमा परेको छ ।


रानागाउँकी गौरा बम बिरामी बोकेर अस्पताल लैजाँदै गर्दा भन्छिन्, “गाउँका तन्नेरी सबै खाडी गएका छन् । एम्बुलेन्स छैन । बिरामी पर्दा यसैगरी बोकेर अस्पताल पुर्‍याउनु पर्छ ।” उनका यी शब्दहरूले गाउँको पीडादायी यथार्थ बोल्छन् ।


एक सयभन्दा बढी घरधुरी रहेको रानागाउँमा विदेश वा कालापहाड नगएको युवा भेटिँदैन । बाँकी रहेका युवासमेत शिक्षा र रोजगारीको खोजीमा काठमाडौँसहित अन्य सहरतिर पलायन भएका छन् । गाउँमा विपद् वा बिरामी पर्दा महिलाहरू अघि नसरी विकल्प छैन ।
सुत्केरीदेखि गम्भीर बिरामीसम्मलाई खेतका गह्रा, उकालो–ओरालो र धुलाम्मे बाटो हुँदै स्ट्रेचरमा बोकेर अस्पताल लैजानु महिलाहरूको बाध्यता बनेको छ । किशोरहरू सहयोगी बने पनि युवाविहीन गाउँमा सामाजिक, सांस्कृतिक तथा पारम्परिक जिम्मेवारी धान्न बुढापाका, महिला र बालबालिकालाई दिनानुदिन कठिन हुँदै गएको छ ।
विडम्बना के छ भने नगरपालिकाका जनप्रतिनिधिका लागि चढ्ने गाडी र २४ घण्टा चालकको सुविधा उपलब्ध छ । तर नगरपालिकाका अधिकांश गाउँहरूमा सडक कच्ची छन् । बजार क्षेत्रमा सीमित पिच बाटो भए पनि गाउँतिर एम्बुलेन्स पुग्ने अवस्था छैन ।
बिरामीलाई स्ट्रेचरमा बोकेर धुले बाटो हुँदै अस्पताल लैजाँदै गरेको दृश्य यहाँ सामान्य भइसकेको छ । नगरबासीलाई ‘नगरपालिका’ भित्र बसिरहेको अनुभूति समेत हुन छाडेको छ । त्यसैले न्यूनतम रूपमा एउटा एम्बुलेन्ससमेत व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीय नेतृत्वप्रति नागरिकहरू आक्रोशित छन् ।


गाउँमा उत्पादन हुने अन्नले वर्षभरि खान पुग्दैन । रोजगारीको अभावले युवा बाहिरिँदा घरमा छोराछोरीको बाटो हेरेर बसेका बाआमाहरू पीडा आफ्ना लोकगीत र भाकामार्फत पोखिरहेका छन् ।
२०७८ सालको जनगणनाअनुसार रास्कोट नगरपालिकामा ५८ बस्तीमा ३ हजार १९४ घरधुरी छन् । साविक स्युना, फुकोट र सिपखाना गाविस मिलेर बनेको यस नगरपालिकाको जनसङ्ख्या १७ हजार ४२५ पुगेको छ । कानुनी मापदण्डअनुसार नगर बने पनि पूर्वाधार, शिक्षा, रोजगारी र चेतनाजस्ता आधारभूत सहरी चरित्रहरू पालिकाको केन्द्रमै पनि भेट्न कठिन छ ।
युवाविहीन गाउँको भार महिलामाथि मात्र होइन, सिंगो समाजको भविष्यमा गम्भीर प्रश्न बनेर उभिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update