नेभिगेशन
समाचार

सर्वाधिक मत ल्याए पनि समानुपातिक सूचीबाट बाहिरिए विजय जैरु, रास्वपाभित्र असन्तुष्टि चुलिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक प्रि–इलेक्सनमा दलिततर्फ सर्वाधिक मत ल्याएका नेता विजय जैरु समानुपातिक सूचीमा नपरेपछि पार्टीभित्र असन्तुष्टि देखिन थालेको छ । दलित कोटाबाट १८ हजारभन्दा बढी मत प्राप्त गरेका जैरुलाई नेतृत्वले एकपटक पनि नसोधी सूचीबाट हटाएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।


पार्टी स्थापनाकालदेखि नै रास्वपासँग आबद्ध जैरु पछिल्ला तीन वर्षदेखि सुदूरपश्चिम प्रदेशमा संगठन विस्तारमा सक्रिय थिए । संगठनभित्र बलियो पकड बनाएका उनले आन्तरिक प्रतिस्पर्धाका विभिन्न विधामा आफू अब्बल रहेको दाबी गरे पनि अन्तिम सूचीमा उनको नाम अटेन ।


जैरुका अनुसार अन्तिम समयमा आएर अन्य पार्टीबाट आएका व्यक्तिहरूलाई समेट्ने निर्णयका कारण आफू सूचीबाट हटाइए । ‘प्रकाश सपुत, रामजी राम, रिमा विश्वकर्माजस्ता व्यक्तिहरूलाई समेट्दा म छुटेँ,’ उनले बताएका छन् । नेतृत्वले एकपटक सल्लाह गरेको भए सहज रूपमा स्वीकार गर्ने भए पनि नसोधिएको विषयले मन दुखेको उनको भनाइ छ ।
‘कञ्चनपुर क्षेत्रका सबै ठाउँमा २०७९ को चुनावमा राम्रो काम गरेको थिएँ । अहिले पनि संगठन विस्तारमा निरन्तर लागिरहेको छु,’ जैरुले भने, ‘मेरो कामको मूल्यांकन हुन्छ भन्ने अपेक्षा थियो । तर, एकपटक पनि नसोधिनु दुःखद् हो ।’
आफू रास्वपाको “पिलर” भएको दाबी गर्ने जैरुले पार्टीले समेटेन भन्दै पार्टी नछोड्ने स्पष्ट पारेका छन् । ‘पार्टीले मेरो मूल्यांकन कहीँ न कहीँ पक्कै गर्ला,’ उनले भने । आन्तरिक भोटिङमार्फत देशभरबाट लोकप्रिय मत ल्याएकाले आफू बलियो प्रतिस्पर्धी रहेको र पार्टीलाई घाटा हुने काम कहिल्यै नगरेको उनको दाबी छ । यसबारे नेतृत्वलाई जानकारी गराउँदा ‘अझै केही बिग्रिएको छैन’ भन्ने जवाफ आएको उनले बताए ।


जैरु नअट्दा समानुपातिक सूचीमा परेका डा. रामजी रामले भने सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् । ‘यदि मेरो कारणले विजय जैरुजी छुट्नुभएको हो भने मलाई हटाइयोस्,’ उनले भने । साथै, उनले रास्वपाले अपनाएको आन्तरिक प्राइमरी इलेक्सन प्रणालीमाथि पनि प्रश्न उठाएका छन् ।
‘लोकतन्त्रमा मतदाताको मतको अर्थ हुन्छ कि हुँदैन ? प्राइमरी इलेक्सनमा अग्रस्थान हासिल गरेका व्यक्तिहरू मतअनुसारको स्थानमा नपर्नु गम्भीर प्रश्न हो,’ उनले भने, ‘दलिततर्फ सर्वाधिक मत ल्याउने विजय जैरुजीको नाम नै समानुपातिक सूचीमा नदेखिनु प्राइमरी इलेक्सनको औचित्यमाथि प्रश्न हो ।’
यसैबीच, समानुपातिक सूचीमा समेटिएका महेन्द्र लावतीले पनि असन्तुष्टि जनाउँदै आफू सूचीबाट हटिसकेको जानकारी दिएका छन् । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यसमेत रहेका लावतीले रास्वपासँग एकीकरणका विषयमा असहमति जनाउँदै आएका थिए । सल्लाह नगरी समानुपातिक सूचीमा राखिएकोप्रति आपत्ति जनाउँदै उनले नाम फिर्ता लिएको बताएका छन् ।


आन्तरिक मत, समावेशिता र उम्मेदवार छनोट प्रक्रियालाई लिएर उठेका यी प्रश्नहरूले प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको रास्वपाभित्र नेतृत्वको निर्णय प्रक्रियामाथि थप बहस सुरु गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update