नेभिगेशन
राजनीति

उम्मेदवारको नाम मागिएपछि एमालेमा पोखरेल पक्ष सशंकित

आगामी २१ फागुनका लागि घोषित निर्वाचनको पक्षमा पूर्ण रूपमा तयार भइनसकेको नेकपा (एमाले) ले संस्थागत छलफलविनै समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अघि बढाएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ । विशेषगरी नेता ईश्वर पोखरेल पक्षले प्रक्रियाप्रति शंका र आपत्ति जनाएको छ ।


सुशीला कार्की नेतृत्वको सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरी विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरिरहेको एमालेले मंगलबार जिल्ला अध्यक्षहरूलाई प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।


महासचिव शंकर पोखरेलले भर्चुअल माध्यमबाट प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित प्राथमिकता क्रम तोकेर तीनजनाको नाम प्रदेश कमिटीमार्फत केन्द्रमा पठाउन निर्देशन दिएका छन् । यसै सन्दर्भमा मंगलबार महासचिव पोखरेलले प्रदेश कमिटी र ७७ वटै जिल्ला कमिटीसँग भर्चुअल छलफलसमेत गरेका थिए ।
निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उम्मेदवार छनोट प्रक्रिया विगतकै अभ्यासअनुसार अघि बढाइएको स्पष्ट पारे ।

उनका अनुसार प्रदेश कमिटीले जिल्लासँग एक महिलासहित कम्तीमा तीनजनाको नाम मागी प्राथमिकता निर्धारण गरेर केन्द्रमा पठाउने प्रक्रिया पहिलेदेखि नै चल्दै आएको हो । ‘केन्द्रमा आएका नामहरू केन्द्रीय कमिटीमा प्रस्तावका रूपमा छलफल गरी अन्तिम निर्णय गरिनेछ,’ उनले भने, ‘अहिले प्रारम्भिक प्रक्रिया मात्र सुरु भएको हो, निर्णय हुन अझै छलफल बाँकी छ ।’


तर पार्टी सचिवालय बैठक नै नबोलाई महासचिवले उम्मेदवार छनोटजस्तो संवेदनशील विषय एकतर्फी रूपमा अघि बढाएको भन्दै ईश्वर पोखरेल पक्षका नेताहरूले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् । उनीहरूले पार्टीभित्र व्यापक छलफल र सहमति बिना गरिएको प्रक्रिया उचित नभएको धारणा राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update