नेभिगेशन
समाचार

भद्रकाली मन्दिर पुनर्निर्माण सन्तोषजनक गतिमा : उपप्रमुख डंगोल

काठमाडौँ महानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक सुनिता डंगोलले भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण कार्य सन्तोषजनक रूपमा अगाडि बढिरहेको बताउनुभएको छ।


मङ्गलबार पुनर्निर्माण कार्यको स्थलगत अनुगमन गर्दै उपप्रमुख डंगोलले निर्माणको गुणस्तरमा निरन्तर निगरानी गर्न महानगरको सम्पदा तथा पर्यटन विभागलाई निर्देशन दिनुभयो। साथै, निर्धारित समयमा काम सम्पन्न गर्न निर्माण पक्षलाई कडाइका साथ निर्देशन दिनुभएको छ।


उहाँले सत्तलमा काठसम्बन्धी काम गर्दा परम्परागत रूपमा काठकला गर्ने रैथाने सिप भएका व्यक्तिहरूको सुझाव र सहयोग लिनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, कम्पाउण्ड वाल (सुरक्षा पर्खाल) निर्माण गर्दा सुरक्षा, सौन्दर्य, मौलिकता र प्रयोगमा सहजतालाई विशेष ध्यान दिन निर्देशन दिनुभयो।


अनुगमनका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालले पुनर्निर्माण प्रक्रिया, प्रयोग हुने निर्माण सामग्री, शैली र ढाँचाबारे जानकारी गराउनुभएको थियो। अनुगमनमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईँ, गुठी संस्थानका सदस्य सचिव शैलेशराज कुँवर, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर तथा गुठी र समुदायसँग सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो।
योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीका अनुसार चालु आर्थिक वर्षमा कार्यान्वयन भएका योजनाहरूको नियमित अनुगमन भइरहेको छ।


भद्रकाली मन्दिर भौगोलिक रूपमा काठमाडौँ महानगरपालिका वडा नं. ११ मा अवस्थित छ। यद्यपि, यससँग सम्बन्धित जात्रा, पर्व, संस्कार, संस्कृति र परम्परा वडा नं. २२ सहित भित्री वडासँग गाँसिएका छन्। सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार मन्दिर परिसरभित्र विभिन्न समुदायका कुलदेवता स्थल रहेकाले त्यसको गरिमा जोगाउँदै पुनर्निर्माण कार्य अघि बढाइएको छ।


२०७२ सालको विनाशकारी भूकम्पबाट जीर्ण बनेको भद्रकाली मन्दिर परिसरका सत्तल पुनर्निर्माणका लागि छनोट भएको निर्माण पक्षसँग २०८१ साल जेठ ६ गते सम्झौता गरी असार ४ गते कार्यादेश दिइएको थियो। सोही महिनाको २७ गते जग पूजा सम्पन्न भएपछि मन्दिर परिसरको दक्षिण–पश्चिम भागबाट पुनर्निर्माण कार्य सुरु गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update