नेभिगेशन
राजनीति

रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भोलि सुर्खेतमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम भोलि (शुक्रबार) सुर्खेतमा आयोजना गर्ने भएको छ । कर्णालीमा पार्टी संरचनालाई प्रदेश, जिल्ला र पालिकासम्म विस्तार गर्दै संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा प्रशिक्षण हुने रास्वपा सुर्खेतका सभापति रमेश कुमार सापकोटाले जानकारी दिए।

पार्टीको केन्द्रीय प्रशिक्षण विभागको निर्णयअनुसार देशका अन्य सबै प्रदेशमा प्रशिक्षण सम्पन्न भइसकेको र बाँकी रहेको कर्णाली प्रदेशमा भोलीको कार्यक्रम अन्तिम चरणको प्रशिक्षण अभियानका रूपमा रहेको जनाएको छ।

कार्यक्रममा पार्टीका केन्द्रीय समितिका कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिस झा, केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गणेश पराजुली, केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदी, केन्द्रीय सदस्य तथा पूर्व समानुपातिक सांसद बिनिता कठायतलगायतका शीर्ष नेताहरूको उपस्थिति रहने छ।

सभापति सापकोटाका अनुसार पार्टी स्थापना भएको छोटो अवधिमै संगठन विस्तारसँगै सदस्य संख्या उल्लेख्य रूपमा वृद्धि भइरहेकाले पार्टीका नीति, कार्यक्रम, आधिकारिक दस्तावेज र केन्द्रीय अवधारणालाई तल्ला तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने लक्ष्यसहित कर्णालीमा पनि प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो।

रास्वपाले प्रदेश र केन्द्रका नेता–कार्यकर्तालाई एउटै मञ्चमा भेला गर्दै संगठनात्मक क्षमता अभिवृद्धि, नीतिगत स्पष्टता तथा आगामी राजनीतिक अभियानका लागि ऊर्जा संकलन गर्ने उद्देश्यले प्रशिक्षणलाई महत्वपूर्ण मोडको रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update