युवा पुस्ताको नेतृत्व र दृष्टिकोणसहित कानूनी क्षेत्रमा नयाँ ऊर्जा थप्ने उद्देश्यले नेपाल बार एसोसिएशनको विधान, २०४८ (संशोधनसहित) बमोजिम केन्द्रीय कार्यसमितिको निर्णयअनुसार गठित नवोदित कानून व्यवसायी सरोकार समितिमा अधिवक्ता मुकेश सेन्चुरी सदस्य–सचिवका रूपमा मनोनित भएका छन्।
नेपाल बार एसोसिएशनले जारी गरेको जानकारीपत्रअनुसार, उक्त समितिले बारसँग घनिष्ठ समन्वय गर्दै नवप्रवेशी कानून व्यवसायीहरूका हकहित संरक्षण, व्यावसायिक दक्षता अभिवृद्धि, पेशागत नैतिकता सुदृढीकरण र युवा वकिलबीच सहकार्यको वातावरण निर्माण गर्ने कार्ययोजना अघि सार्नेछ। समितिको बैठकको गणपुरक संख्या २५ प्रतिशत रहने र कम्तीमा वर्षमा ६ पटक बैठक बस्ने व्यवस्था गरिएको छ। साथै, समितिबाट सम्पन्न भएका प्रमुख गतिविधिहरू नेपाल बार एसोसिएशनको वार्षिक साधारण सभा तथा केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा प्रस्तुत गर्नुपर्नेछ।
उक्त नियुक्तिपत्र अधिवक्ता सेन्चुरीले नेपाल बार एसोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला, कोषाध्यक्ष वरिष्ठ अधिवक्ता जगत बहादुर कार्की, सदस्य अधिवक्ता दमन बहादुर चन्द र सदस्य अधिवक्ता रञ्जिता कार्कीको उपस्थितिमा औपचारिक रूपमा ग्रहण गरेका हुन्।
यस समितिमा अधिवक्ता श्री तुलसीराम पराजुली र अधिवक्ता श्री मकान तामाङलाई सल्लाहकार, अधिवक्ता श्री कैलास तामाङलाई संयोजक, अधिवक्ता श्री आशुतोष पाण्डेलाई सह–संयोजक, अधिवक्ता श्री रूपेश खनाल र अधिवक्ता श्री मनोज वास्तोलालाई सह–संयोजक तथा अधिवक्ता श्री मुकेश सेन्चुरीलाई सदस्य–सचिवका रूपमा मनोनीत गरिएको छ। साथै, अन्य २३७ जना अधिवक्ताहरूलाई पनि समितिको सदस्यका रूपमा मनोनीत गरिएको छ।
कानूनी क्षेत्रमा सक्रिय, प्रतिबद्ध र ऊर्जाशील व्यक्तित्वका रूपमा परिचित अधिवक्ता सेन्चुरीले विगतदेखि नै कानूनी अभ्यास, व्यावसायिक तालिम र युवा वकिल सशक्तीकरणका क्षेत्रमा निरन्तर योगदान गर्दै आएका छन्।
सदस्य–सचिवमा मनोनयनपछि प्रतिक्रिया दिँदै अधिवक्ता सेन्चुरीले भने,नेपाल बार एसोसिएशनले ममा देखाएको विश्वास र जिम्मेवारीको म सम्मानपूर्वक कदर गर्दछु। युवा कानून व्यवसायीहरूका समस्या, अपेक्षा र अवसरहरू सम्बोधन गर्न यो समिति प्रभावकारी मञ्च बन्नेछ। म व्यावसायिक विकास, तालिम, अभिमुखीकरण र नेटवर्क सुदृढीकरणका कार्यक्रम सञ्चालनमा प्रतिबद्ध छु।
उनले थप नवपुस्ताका कानूनी पेशेवरहरूलाई नैतिकता, दक्षता र सेवा भावसहित सक्षम नेतृत्वका रूपमा उभ्याउने लक्ष्यसहित म काम गर्नेछु। नेपाल बारसँग सहकार्य गर्दै नवोदित कानून व्यवसायीको आवाजलाई संस्थागत रूपमा बलियो बनाउने मेरो प्राथमिकता हुनेछ।
नेपाल बार एसोसिएशनका पदाधिकारीहरूले अधिवक्ता सेन्चुरीबाट समितिको सक्रिय, योजनाबद्ध र परिणाममुखी नेतृत्वको अपेक्षा व्यक्त गर्दै, कानूनी पेशाको विकास र नवोदित वकिलहरूको सशक्तीकरणमा उनले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
