नेभिगेशन
समाचार

नेपालमा ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव नेपालमा परेको छ। हाल देशभर पश्चिमी वायुको प्रभाव समेत रहेकाले विभिन्न प्रदेशमा मौसम बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका अधिकांश पहाडी भू–भागमा आकाश बदली रहने छ भने तराईका धेरै स्थानमा सामान्यतया बदली रहनेछ।

त्यस्तै कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रका उच्च स्थानमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।

विभागले सावधानी अपनाउन आग्रह गर्दै आगामी केही दिन मौसम बदली रहने तथा तापक्रममा केही गिरावट आउन सक्ने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update