नेभिगेशन
समाचार

राष्ट्रिय जेन–जी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दियो

राष्ट्रिय जेन–जी पार्टीले दल दर्ताका लागि नेपाल निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ। पार्टीका अध्यक्ष हिरा प्रसाद सेतीको नेतृत्वमा आयोग पुगेको टोलीले आवश्यक कागजातसहित दल दर्ताको प्रक्रिया अगाडि बढाएको हो।

दर्ता निवेदनमा पार्टीले आफ्नो चुनाव चिन्ह ‘क्रस खुकुरी’ प्रस्ताव गरेको छ।

पार्टीको सिद्धान्त तथा नीतिमा सामाजिक उदारवादलाई राजनीतिक दर्शनका रूपमा अंगीकार गरिएको छ। साथै, युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार, र गणतन्त्रलाई आधार स्तम्भका रूपमा उल्लेख गरिएको छ।

दलको विधानअनुसार कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकालसम्म मात्र जिम्मेवारी वहन गर्न पाउने व्यवस्था गरिएको छ।

राष्ट्रिय जेन–जी पार्टीको संघीय कार्यालय काठमाडौंको अनामनगरमा रहेको छ। प्रारम्भिक संरचनाअनुसार पार्टीको केन्द्रीय समितिमा २१ जना सदस्य रहेका छन्।

पार्टीले नयाँ पुस्ताको नेतृत्वमा समावेशी र आधुनिक राजनीतिक संस्कृतिको विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update