नेभिगेशन
समाचार

पर्यटन वर्ष २०८२ धमाधम मनाउँदै कोशी प्रदेश, पारिवारिक घुमघामका आठ सवारीमैत्री गन्तव्य चर्चामा

मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा ‘पर्यटन वर्ष २०८२’ धमाधम मनाइरहेको कोशी प्रदेश भौगोलिक विविधता, प्राकृतिक सुन्दरता र धार्मिक सम्पदाले भरिएको प्रदेशका रूपमा परिचित छ। हिमाल, पहाड र तराईको मिश्रित भू–परिवेशका कारण कोशीलाई ‘मिनी नेपाल’ पनि भनिन्छ।

उत्तरमा चीन र दक्षिण–पूर्वमा भारतसँग सीमाना जोडिएको कोशी प्रदेशबाट भुटान र बंगलादेश पनि नजिकै छन्। यही भौगोलिक पहुँच र प्राकृतिक आकर्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले कोशी सरकारले यस वर्षलाई ‘पर्यटन वर्ष २०८२’का रूपमा मनाइरहेको हो।

पर्यटन वर्ष अभियानअन्तर्गत कोशीमा पारिवारिक घुमघाम, साहसिक तथा धार्मिक पर्यटनका लागि सहज र सवारीमैत्री आठ प्रमुख गन्तव्यहरूको विशेष पहिचान गरिएको छ —

१. भेडेटार

सुनसरी, मोरङ र झापाका पर्यटकहरूका लागि मात्र होइन, सीमापारि भारतका बिहार र पश्चिम बंगालका आगन्तुकका लागि पनि आकर्षक हिल स्टेसन हो। धरानबाट १६ किलोमिटरको दूरीमा रहेको भेडेटारबाट हिमाल र तराई दुवै भू–दृश्य देख्न सकिन्छ। प्याराग्लाइडिङ, जिपलाइन, क्यानोनिङ र साइक्लिङजस्ता साहसिक गतिविधिका साथै यहाँको स्काइवाक पनि पर्यटकको मुख्य आकर्षण बनेको छ।

२. कन्याम

‘पूर्वको दार्जिलिङ’ भनेर चिनिने इलामको कन्याम चिया बगानका कारण विश्वभर लोकप्रिय छ। यहाँ हरियाली चिया बगानमा फोटो खिच्ने, घोडा चढ्ने, साइकल चलाउने, प्याराग्लाइडिङ गर्ने अवसर पाइन्छ। कन्यामबाट श्रीअन्तु, इलाम बजार र दार्जिलिङसम्म छोटो यात्रामा पुग्न सकिन्छ।

३. पत्ताले

ओखलढुंगा र सोलुखुम्बुबीचको सगरमाथा कोरिडोरमा पर्ने पत्ताले हिमाल हेर्नका लागि प्रसिद्ध गन्तव्य हो। ३,००० मिटर उचाइमा रहेको यस स्थानबाट सगरमाथा, ल्होत्से, चोयु लगायतका हिमालहरू स्पष्ट देखिन्छन्। हिउँदमा यहाँ हिउँ खेल्न पुग्नेको भीड लाग्ने गर्छ।

४. कोशी टप्पु

नेपालको एकमात्र वन्यजन्तु आरक्ष ‘कोशी टप्पु’ दुर्लभ चराचुरुङ्गी र अर्नाका लागि प्रसिद्ध छ। यहाँ हात्ती र जिप सफारी, बर्ड वाचिङ, तथा होमस्टे अनुभव गर्न पाइन्छ। हालै गैँडा स्थानान्तरण भएपछि यो प्रदेशको एक्लो गैँडा गन्तव्य पनि बनेको छ।

५. टीएमजे (तीनजुरे–मिल्के–जलजले)

१७०० देखि ५००० मिटर उचाइसम्म फैलिएको यो क्षेत्र गुराँसको राजधानीका रूपमा चिनिन्छ। वसन्त ऋतुमा टीएमजेका पहाड रातो र गुलाबी गुराँसले रँगिन हुन्छन्। यहाँको ‘चोलुङ पार्क’ अन्तर्राष्ट्रिय रूपमा चर्चित छ र लालीगुराँस नगरपालिकाको मुख्य आकर्षण हो।

६. गुफापोखरी

२,८९० मिटर उचाइमा अवस्थित गुफापोखरीबाट कंचनजंघा, मकालु र कुम्भकर्ण हिमाल एकैसाथ हेर्न सकिन्छ। सडकबाट सहजै पुग्न सकिने यो गन्तव्यमा सूर्योदय, हिउँ खेलकुद र शान्त वातावरणको अनुभव गर्न सकिन्छ।

७. धरान

कोशी प्रदेशको सांस्कृतिक र शैक्षिक केन्द्र धरान ऐतिहासिक धार्मिक स्थल, आधुनिक क्याफे, होटल र साहसिक पर्यटनका गतिविधिले भरिएको शहर हो। बुढासुब्बा, दन्तकाली, पिण्डेश्वरजस्ता तीर्थस्थलदेखि एड्भेन्चर पार्क र गोल्फ कोर्ससम्म धरानमा सबै सुविधा उपलब्ध छन्।

८. हलेसी महादेव

‘पूर्वको पशुपतिनाथ’ भनेर चिनिने हलेसी महादेवधाम वैदिक, बौद्ध र किराँत धर्मको संगमस्थल हो। मध्यपहाडी राजमार्ग हुँदै सहजै पुग्न सकिने यो तीर्थस्थलमा वर्षभरि भक्तजनको घुँइचो लाग्ने गर्छ।

कोशी प्रदेशले यी गन्तव्यहरूलाई सुदृढ पूर्वाधार, होटल, होमस्टे र स्थानीय संस्कृति प्रवर्द्धनमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने लक्ष्य राखेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update