नेभिगेशन
समाचार

गणेशमान सिंहको २८औं स्मृति दिवस : लोकतन्त्रका अग्रदूतप्रति श्रद्धाञ्जली

नेपाली कांग्रेसका संस्थापक नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रदूत गणेशमान सिंहको २८औं स्मृति दिवस आज देशभर श्रद्धापूर्वक मनाइँदै छ। यस अवसरमा काठमाडौँको भोभाभगवतीस्थित उहाँको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।

राणा शासनको अन्त्यदेखि २०४६ सालको जनआन्दोलनसम्म नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन नेतृत्वदायी भूमिका खेलेका सिंहलाई सम्झँदै हरेक वर्ष स्मृति दिवस मनाउने गरिएको छ। तत्कालीन राजाले कू गरेपछि पनि प्रजातन्त्र पुनःस्थापनाका लागि अडिग रहनु, र २०४६ सालको आन्दोलनपछि प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गर्नु, उहाँको सिद्धान्तप्रतिको निष्ठाको प्रमाण मानिन्छ।

१९७२ साल कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटी चाक्सीबारीमा जन्मिएका सिंह प्रजा परिषद् मार्फत १९९७ सालमै राणा शासनको अन्त्य अभियानमा सक्रिय भएका थिए। २०५४ साल असोज २ गते उहाँको निधन भए पनि, लोकतन्त्रका लागि गरेको त्याग, इमान र नेतृत्व आज पनि नेपाली राजनीतिको आधारस्तम्भका रूपमा रहेको छ।

यता हालैको ‘जेनजी’ युवा आन्दोलनको क्रममा सिंहकै निवास चाक्सीबारीमा आगजनी भएको थियो। उक्त घटनापछि नेता प्रकाशमान सिंहसहित परिवारका सदस्यलाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो।

सिंहको योगदान र सिद्धान्तलाई आजको सन्दर्भमा अझ सजीव बनाउँदै नेपाली कांग्रेससहित सर्वसाधारणले लोकतन्त्रप्रतिको प्रतिबद्धता नवीकरण गर्दै स्मृति दिवस मनाइरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update