नेभिगेशन
समाचार

जेनजी पुस्ताको प्रतिरोध : नेताका छोराछोरी, विलासिता र भ्रष्टाचारविरुद्ध सडक संघर्ष

नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले उल्टै नयाँ पुस्ताको विद्रोहलाई निम्त्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गरे पनि टिकटकमार्फत सुरु भएको “नेपो बेबी” र “करप्ट पोलिटियन चाइल्ड” ट्रेन्डले देशभर चर्चा पाएको छ।

नेताका छोराछोरी : विलासिता र असमानताको प्रतीक

जेनजी पुस्ताको असन्तोषको केन्द्रमा नेताका छोराछोरीको जीवनशैली छ।

उनीहरूले विदेशमा लाखौं खर्च गरेर मोजमस्ती गर्ने, महँगो ब्रान्डका कपडा–ब्याग ल्याउने दृश्यहरू टिकटकमा भाइरल भइरहेका छन्।

तर, त्यही समयमा ग्रामीण नेपालमा जनता आफ्ना सन्तानलाई सिटामोलको अभावमा अस्पताल धाउँदैछन्, तुइनमा झुण्डिएर विद्यालय जान बाध्य छन्।

यो विरोधाभास जेनजीको भाषामा “जनताको कर नेताका सन्तानको विलासितामा खर्च भएको प्रमाण” हो।


सामाजिक सञ्जालबाट सडकसम्म

सोसल मिडियामा सुरु भएको ट्रेन्ड सोमबारदेखि सडकमा प्रत्यक्ष प्रदर्शनमा परिणत हुने घोषणा भएको छ।

काठमाडौंमा बिहान ९ बजे सामूहिक विरोध कार्यक्रमको आह्वान गरिएको छ।

देशका अन्य भागमा पनि जेनजीलाई सडकमा उतार्ने तयारी भइरहेको छ।

यस आन्दोलनलाई पार्टी–नेतृत्व नभएको, स्वतःस्फूर्त जनप्रतिरोधको रूपमा व्याख्या गरिँदैछ।

सरकार र सुरक्षा संयन्त्रको चिन्ता

सामाजिक सञ्जाल नियन्त्रण गरेर सरकार आफ्नाविरुद्धको आलोचना रोक्ने प्रयासमा लागेको देखिन्छ। तर, यही कदमले उल्टै आन्दोलनलाई तीव्र बनाएको छ।

सरकारले सुरक्षा तयारी बढाएको छ, तर असन्तुष्ट युवाहरूलाई नियन्त्रण गर्नु सहज नहुने संकेत देखिन्छ।

विश्लेषकहरू भन्छन्, “यदि सरकार संयमित भएन भने, यो आन्दोलन नयाँ पुस्ताको राजनीतिक धारा बन्ने सम्भावना छ।”

पुस्तागत अन्तर र भविष्यको राजनीति

यो आन्दोलन केवल नेताका छोराछोरीको जीवनशैलीविरुद्ध मात्र होइन, पुरै राजनीतिक संस्कृतिविरुद्धको आक्रोश हो।

पुराना पुस्ता विदेशिएका छोराछोरीका रेमिट्यान्सले देश धाने पनि, सत्ता र सुविधाबाट लाभान्वित हुने भने नेताका परिवार मात्र।

जेनजीले आफ्नो भविष्यलाई नै अपहृत भएको अनुभूति गरेका छन्।

यही असन्तोषले उनीहरूलाई “भ्रष्टाचार विरुद्धको पुस्तागत आन्दोलन” तर्फ धकेलिरहेको छ।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सरकारका लागि राजनीतिक रूपमा उल्टो असर ल्याउने देखिन्छ।

जेनजी पुस्ताले नेताका छोराछोरीलाई भ्रष्टाचारको प्रतिमूर्ति बनाएर सडकमा उतार्नु भनेको नेपालमा पुस्तागत राजनीतिक द्वन्द्व सुरु भएको संकेत हो।

यदि यसलाई संवेदनशील ढंगले सम्बोधन गरिएन भने, यो आन्दोलन केवल क्षणिक विरोध मात्र नभई भविष्यको राजनीतिक नेतृत्व निर्माण गर्ने ठोस आधार बन्न सक्ने विश्लेषकहरूको ठम्याइ छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update