नेभिगेशन
समाचार

सुनचाँदी व्यवसायी संघ सुनचाँदी सुर्खेत र कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघ द्वारा अन्तरक्रिया, प्रशिक्षण तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

सुनचाँदी व्यवसायी संघ सुर्खेत र कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघ सुर्खेतको संयुक्त आयोजनामा आयोजित अन्तरक्रिया, प्रशिक्षण तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कर प्रणाली, व्यवसायिक उत्तरदायित्व, पारदर्शिता र संघीय समन्वयका विषयमा गहन छलफल गरिएको छ।

कार्यक्रमको संयुक्त सभाध्यक्षता सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ओम बहादुर विश्वकर्मा र कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघ सुर्खेतका अध्यक्ष दिनेश घिमिरेले गर्नु भएको थियो। कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य ज्ञानेन्द्र विश्वकर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रममा कर सम्बन्धी प्रशिक्षण विशेष आकर्षणको विषय बन्यो। आन्तरिक राजस्व कार्यालय सुर्खेतका कर अधिकृत रमेश पौड्याल र नवराज खड्काले व्यवसायीहरूलाई विलासिता शुल्क, कर विवरण, कर छुट, लेखापरिक्षण, वैधानिक दायित्वहरू लगायतका विषयमा विस्तृत जानकारी दिनुभयो।

 

कार्यक्रममा सहभागी व्यवसायीहरूबाट कर सम्बन्धी विभिन्न जिज्ञासाहरू उठाइएका थिए, जसको जवाफ प्रशिक्षकद्वयले प्रस्ट रूपमा दिनुभएको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव डा. रत्नविर सुनार, राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका सहायक प्रबन्धक भिम सुनार, तथा चार्टर्ड एकाउन्टेन्ट ललित विश्वकर्मा लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रह्यो।

कार्यक्रममा उपस्थित सबै वक्ताहरूले सुनचाँदी व्यवसायको वर्तमान अवस्था, चुनौती र सम्भावनाहरूका बारेमा धारणा राखेका थिए। उनीहरूले व्यवसायलाई कर प्रणालीभित्र पारदर्शी रूपमा अघि बढाउने सन्देश दिएका थिए।

कार्यक्रमको सञ्चालन मोहन सुनारले गर्नु भएको थियो, जसले कार्यक्रमलाई अत्यन्त सुव्यवस्थित र आकर्षक ढंगले अगाडि बढाउनु भयो।

कार्यक्रममा सहभागी व्यवसायीहरूले यस्ता कार्यक्रमहरूले आफूहरूलाई कानुनी जानकारी, कर सम्बन्धी चेतना र व्यवसाय सञ्चालनमा थप मार्गदर्शन मिल्ने बताएका छन्।

संघका पदाधिकारीहरूले आगामी दिनमा अझ व्यापक र क्षेत्रीय तहसम्म यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता समेत जनाएका छन्।

यो कार्यक्रमले सुनचाँदी व्यवसायीबीचको एकता, संस्थागत सशक्तिकरण र सरकारी निकायहरूसँगको सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूको विश्वास छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update