पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीले हालै आफ्नो पार्टी सदस्यतामाथि उठाइएका प्रश्नबारे खुला पत्र लेख्दै गम्भीर आपत्ति जनाएकी छिन्। एमाले केन्द्रीय कमिटीको २०८२ साल साउन ५ र ६ गते बसेको बैठकको निर्णयलाई आधार बनाएर आफ्नै सदस्यता विवादमा पारिएको उल्लेख गर्दै उनले यसलाई व्यक्तिगत मात्र नभई पार्टी र राष्ट्रकै सन्दर्भमा गम्भीर विषय भएको बताएकी छन्।
भण्डारीले आफ्नो पत्रमा स्मरण गराएकी छन्– पार्टी सदस्यता नवीकरण भएको लामो समयपछि पनि सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरूमा आफू सहभागी हुँदा कहिल्यै सदस्यता विवाद उठाइएन, तर अहिले भने अनावश्यक रूपमा प्रश्न खडा गरिएको छ।
“मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीकै सेवामा समर्पित गरेकी हुँ। महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि निरन्तर आवाज उठाउँदै आएको छु। यस्ता संघर्षबीच कहिल्यै पछि हटेकी छैन। तर आज मेरो सदस्यता विवादित बनाइएको छ, जुन विषय मेरो निम्ति मात्र होइन, कुनै पनि पार्टी सदस्यका लागि पीडादायी हो,” उनले उल्लेख गरेकी छन्।
भण्डारीले आफ्नो पत्रमा २०३७ सालमा प्राप्त गरेको सदस्यतालाई गहिरो आस्था र विश्वासको प्रतीक बताउँदै त्यसलाई कुठाराघात गर्ने प्रयास भएकोमा चिन्ता व्यक्त गरेकी छन्। उनले पार्टीले नै विशेष निर्णयमार्फत आफूलाई राष्ट्रपतिमा पठाएको र त्यो जिम्मेवारी सफलतापूर्वक पूरा गरेर फर्किएपछि फेरि पार्टीमा सक्रिय हुने अठोट गरेको प्रष्ट पारेकी छन्।
असार १४ गते मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा सदस्यता नवीकरण भएको तथ्य प्रस्तुत गर्दै उनले बाँकी जीवन पार्टीमार्फतै देश र जनताको सेवामा समर्पित गर्ने घोषणा गरिसकेको स्मरण गराएकी छन्।
त्यसैगरी उनले विगतमा पार्टीभित्र लोकतान्त्रिक अभ्यास, वैचारिक स्पष्टता र आन्तरिक लोकतन्त्रका लागि साथीहरूसँगै संघर्ष गरेको, आलोचना र अपमान व्यहोरे पनि सही आवाजको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गरेकी छन्। भण्डारीले ती संघर्ष र अभियानहरूकै कारण एमाले जनताको भरोसामा आएको र सुदृढ बनेको दाबी गरेकी छन्।
भण्डारीले पत्रमा स्पष्ट लेखेकी छन्, “मेरो सदस्यता निष्क्रिय बनाउने वा विवादास्पद देखाउने प्रयास पार्टीले अंगालेको विधि, मूल्य र प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने सिद्धान्तको प्रतिकूल छ। यसले केवल व्यक्तिगत रूपमा मलाई मात्र होइन, सम्पूर्ण पार्टी सदस्यहरूको अधिकार र आस्थामाथि प्रश्न उठाउँछ।”
उनले आफ्नो राजनीतिक जीवन प्रारम्भदेखि नेकपा (माले) हुँदै नेकपा (एमाले)सँग जोडिएको स्मरण गर्दै लोकतन्त्र, न्याय र समानताको लागि बाल्यकालदेखि नै आन्दोलन र संघर्षमा होमिएको तथ्य प्रस्तुत गरेकी छन्।
भण्डारीले पार्टी एकता, सुदृढता र आगामी निर्वाचनमा बहुमतसहित निर्णायक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता जोड दिँदै जबजको मार्गदर्शनअनुसार समाजवादको आधार निर्माण र “समृद्ध नेपाल, सुखी नेपाली”को लक्ष्य पूरा गर्न सबै एकताबद्ध भएर लाग्न आग्रह गरेकी छन्।
अन्त्यमा उनले भनिन्–
“यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु पार्टीको उज्ज्वल भविष्य, आस्था, विश्वास र लोकतान्त्रिक अभ्यासलाई सुरक्षित राख्नका लागि हो। तपाईंहरू यसलाई त्यसै अर्थमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु।”